
काठमाडौं । अमेरिकामा शरणार्थी दर्जा पाउने ५९ जना दक्षिण अफ्रिकी अल्पसंख्यक गोरा नागरिक अमेरिका पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष योजनाअनुसार उनीहरूलाई अमेरिका ल्याइएको हो । यो शरणार्थी दर्जामा अमेरिका भित्रिने पहिलो समूह रहेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले उनीहरू दक्षिण अफ्रिकामा जातिगत भेदभावको शिकार भएको भन्दै शरणार्थी आवेदन प्रक्रिया छिटो गरिएको बताएका छन् ।
तर, दक्षिण अफ्रिकी सरकारले यसलाई खारेज गर्दै ती समूहलाई शरणार्थी दर्जाको योग्य हुने कुनै उत्पीडन नगरिएको बताएको छ ।
एकातिर ट्रम्प प्रशासनले युद्ध भइरहेका क्षेत्रका मानिसले गरेको शरणार्थी आवेदन रोकेको छ भने अर्कोतिर दक्षिण अफ्रिकी अल्पसंख्यक गोरा नागरिकहरू अमेरिकामा द्रुत पक्रियामार्फत शरणार्थीको दर्जा दिएर ल्याएको छ ।
मानव अधिकार संस्था ह्युमन राइट्स वाचले यसलाई निर्दयी जातिगत पक्षपात भनेर आलोचना गर्दै अमेरिकाले हजारौँ काला जातिका र अफगान शरणार्थीहरूलाई शरण दिन अस्वीकार गरेको आरोप लगाएको छ ।
सोमबार वाशिंगटन डीसीनजिकैको डल्स विमानस्थल पुगेका यी गोरा दक्षिण अफ्रिकी समूहलाई अमेरिकी अधिकारीहरूले भव्य स्वागत गरेका थिए ।
केहीले साना बच्चाहरू बोकेका थिए र भित्तामा रातो, सेतो र नीलो बेलुन सजिएको आगमन क्षेत्रमा अमेरिकी झण्डा हल्लाए ।
सामान्यतयाः अमेरिकामा शरणार्थी दर्ता प्रक्रिया महिनौँ वा वर्षौं लाग्ने भएपछि यो समूहलाई छिटो प्रक्रिया गरिएको छ । संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी (यूएनएचसीआर)ले सामान्य रूपमा हुने जाँचबुझमा उनीहरू संलग्न नभएका बीबीसीलाई बताए । बीबीसी