
काठमाडौं । टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै द्वन्द्वपीडित समुदायले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
टीआरसी छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले आम द्वन्द्वपीडित समुदायलाई पूर्णत उपेक्षा गरी अपारदर्शी, देखावटी र भागवण्डाका आधारमा टीआरसी छनोट प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् ।
प्रदर्शनकारीहरूले ‘सिफारिस समिति खबरदार’, ‘जबरजस्ती गरे बहिष्कार’, ‘नयाँ सिफारिस प्रक्रिया थालियोस्’, ‘भागबण्डाको समिति मान्दैनौँ’लगायत प्लेकार्ड प्रदर्शन गरेका छन् ।
उनीहरूले सरकार र दल नियन्त्रित प्रकृयाबाट बनाइने आयोग नमान्ने जनाएका छन् ।
द्वन्द्वपीडित समुदायले आफूहरूको माग सम्बोधन नभए पीडितहरूको अगुवाइमा समानान्तर नागरिक आयोग गठन गर्ने चेतावनी समेत दिएका छन् ।