
काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावबीच पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले बुधबार पाकिस्तानको संसद्को सत्रलाई सम्बोधन गरेका छन् ।
सम्बोधनको सुरुमा पाकिस्तानका प्रधानमन्त्रीले भारतले रातको अँध्यारोमा ‘कायर’ आक्रमण गरेको बताए । तर, पाकिस्तानी सेनाले ‘जस्तालाई तस्तै’ गरी जवाफ दिएको दाबी गरे ।
अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको सम्पूर्ण दोष भारतले बिनाप्रमाण पाकिस्तानमाथि लगाएको उनले बताए । भारत प्रशासित जम्मू कस्मीरमा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।
भारतले सम्पूर्ण विश्वलाई उक्त घटनामा पाकिस्तान संलग्न रहेको भन्ने देखाउन खोजेको पनि उनले जनाए ।
सम्बोधनका क्रममा उनले दुई महिनाअघि भएको जाफराबाद एक्सप्रेस अपहरणको सम्झना गरेका थिए । उक्त घटनामा संलग्नहरूको सम्बन्ध भारतसँग रहेको आरोप उनले लगाए । “हामीसँग यसको बारेमा अकाट्य प्रमाणहरू छन्,” पाकिस्तानका प्रधानमन्त्रीले भने ।