
सिंगापुर । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल प्रयोग गर्ने तयारी गरिरहेको बताएका छन् । अमेरिका हिन्दप्रशान्त क्षेत्रमा रहिरहन तयार रहेको उनले उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले व्यापार, प्रविधि र विश्वका रणनीतिक प्रभावका विषयमा बेइजिङसँग छलफल गरिरहेका बेला हेगसेथले सिंगापुरमा आयोजित वार्षिक सुरक्षा मञ्चमा यस्तो टिप्पणी गरेका हुन् । जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पले चीनसँग दण्डनीय व्यापार युद्ध सुरु गरेका छन् ।
ट्रम्पले एआई टेक्नोलोजीमा चीनको पहुँचलाई रोक्न खोजेका छन् । उनले बेइजिङसँग क्षेत्रीय मुद्दामा विवादमा रहेका फिलिपिन्सजस्ता सहयोगीसँग सुरक्षा सम्बन्धलाई गहिरो बताएका छन् ।
विश्वभरका रक्षा अधिकारीको सहभागिता रहेको सांग्रिला संवादमा हेगसेथले भने, “चीनले खडा गरेको खतरा वास्तविक हो र यो तत्काल हुनसक्छ ।”
उनले थपे, “इन्डो–प्यासिफिक क्षेत्रमा शक्ति सन्तुलन परिवर्तन गर्न सम्भावित सैन्य बल प्रयोग गर्ने तयारी बेइजिङले गरिरहेको छ ।”
हेगसेथले चिनियाँ सेनाले ताइवानमाथि आक्रमण गर्ने क्षमता निर्माण र वास्तविक सम्झौताका निम्ति पूर्वाभ्यास गरिरहेको चेतावनी दिए ।
उनका अनुसार, बेइजिङले ताइवानमाथि सैन्य दबाब बढाएको छ । र, टापुको वरिपरि धेरै ठूला अभ्यास गरेको छ, जसलाई प्रायः नाकाबन्दी वा आक्रमणको तयारीका रूपमा वर्णन गरिन्छ ।
हेगसेथले अमेरिका साम्यवादी चीनको आक्रामकतालाई रोक्नका निम्ति पुनः उन्मुख भइरहेको बताए । एसियामा रहेका अमेरिकी सहयोगी र साझेदारलाई बढ्दो खतराको सामना गर्दै आफ्नो प्रतिरक्षालाई द्रुत रूपमा सुधार गर्न उनले आह्वान गरे । रासस/एएफपी