site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले भने– म नेकपा (एमाले)को झोले हो !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता, राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताएका छन् । शनिबार (जेठ १७) काठमाडौंमा नेपाल बुद्धिजीवी परिषद्को महाधिवेशनमा उनले यस्तो बताएका हुन् ।

सही कुरालाई समर्थन गर्दा झोले भन्ने प्रवृत्ति बढेको उनले उल्लेख गरे । आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उनले बताए । जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अप्ठ्यारो नलाग्ने उनको भनाइ थियो ।

Argakhachi Cement Island Ad

आफूले कुनै सामन्तको झोला नबोकेको उनले बताए । कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुतिगान गर्न नकुदेको उनले उल्लेख गरे ।

उनले आफू इतिहास नमर्काउने, नबंग्याउने, सही बाटोमा अघि बढाउने नेकपा (एमाले)को झोले भएको बताए ।

प्रधानमन्त्री ओलीले मेसिन खेलाएर अरूको चरित्रहत्या गरेर ‘बुस्ट’ गरिएका प्रतिक्रियाको पछि नलाग्न आग्रह गरे । आफूलाई झोले भन्नेहरू देख्दा मानिस भए पनि मानव मेसिन भएको उनले टिप्पणी गरे । उनले ढुक्क भएर देशको अग्रगामी परिवर्तनको झन्डालाई माथि उठाएर हिँड्न आग्रह गरे ।

बुद्धिजीवी परिषद्को महाधिवेशनमा प्रधानमन्त्री ओलीको भनाइ पढ्नोस्–
आलोचनात्मक चेत भएका मानिसहरू, सोकल्ड आलोचनात्मक चेत भएका मानिसहरू तिनीहरूले तपाईंले सही आर्टिकल लेखे पनि तपाईं पनि झोले हुनुभएछ भन्दिन्छ । किनभने, तपाईंले सहीको विरोध गर्नु भएन नि ! भ्रष्टाचारीको विरोधमा उफ्रिए पनि हुने । भ्रष्टाचारीको विरोधमा नारा लगाए पनि हुने । भ्रष्टाचारीका विरोधमा आन्दोलन गरे पनि हुने । ढुंगामुढा गरे पनि हुने । फालिसकेको राजतन्त्रको पक्षमा म त रैतान हुन तयार छु भनेर नारा लगाउन हुने । म त एउटा स्वतन्त्र मानव होइन, एउटा नागरिक सर्वोच्चता स्वीकार्ने मान्छे होइन म, प्रभुको दास हुन तयार मान्छे हुँ भनेर कबुलियतनामा गर्न लाज नहुने । ती झोले नहुने ! सबै मानिस स्वतन्त्र छन् । २५ सय वर्षअघि प्लेटोले बुझेको कुरा, भनेको कुरा आज आएर नबुझ्ने पनि, फेरि झोला नबोक्ने स्वतन्त्र मानव भई टोपल्ने त्यो भन्दा पराकाष्ठा के हुन्छ गुलामीको ? त्यसकारण यी गुलामी मनोवृत्तिका, दास मनोवृत्तिका मान्छेहरूका तथाकथित निष्पक्षताका, आलोचनात्मक चेतका यस्ता कुराहरूका कुनै भ्रममा नपरौँ । सही कुरालाई समर्थन गर्दा झोले । मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन, म जनताका झोला बोकेर हिँड्ने मान्छे हुँ । जनताका हित, राष्ट्रका इज्जत, हितहरूको झोला बोक्ने, राष्ट्रको गौरवको झोला बोक्ने र गौरव, परिवर्तनको झन्डा माथि उठाउने एउटा झोले हुँ । के भयो त झोले हुँदा ! मैले कुनै सामन्तको झोला बोकेको छैन । कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुतिगान गर्न कुदेको छैन । इतिहासलाई बांगोटिंगो पारेर मर्काएको छैन । हो, त्यस्तो झोला ! इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउँदा म नेकपा (एमाले)को झोले हो । म यस देशका जनताको झोले हो । अब भयो ? चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई ? म कबुल गर्छु– झोले हो । झोला बोकेर हिँड्या हो ! यी झोला किन बनेका भन्या ? बोक्न होइन ? राम्रा कुरा बोक्न बनेका झोला दलाली झोलाभरि हालेर बोक्छन् यिनीहरू, राम्रा कुरा बोकेर हिँडून् त्यो झोलामा ! झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नुमा गर्व छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्