
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रूपान्तरणको आवश्यकता रहेको बताएका छन् । शनिबार (जेठ १७) ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
बन्दुकले सेना कुट्ने, मार्ने र हान्नेबाहेक केही नदेखेको माओवादी पनि रूपान्तरण भएर हालको संविधानभित्र आएको उनले उल्लेख गरे । उनले आवश्यक पर्दा राजनीतिक दल र नेताहरू रूपान्तरण भइरहेका बताए । फेरि एकपटक रूपान्तरण हुन जरुरी रहेको उनको भनाइ थियो ।
नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पुर्याउने काममा लाग्नुपर्नेमा उनले जोड दिए । यति बेला राज्य जनतासँग नजिक भएको अनुभूति हुन नसकेको उनले बताए ।
सुशासन र सेवा प्रवाहका बारेमा राज्य रूपान्तरित भएर अघि बढ्नु आजको आवश्यकता रहेको उनले औँल्याए । मध्यमवर्गलाई राज्यले हेर्न नसकेको उनले टिप्पणी गरे ।
सचिव भट्टराईले अवसरको ठिक ढंगले उपयोग गर्नुपर्ने जरुरी रहेको बताए । विगतको रूपान्तरणले नपुगेको उनको भनाइ थियो ।
कार्यक्रममा योगेश भट्टराईको भनाइ पढ्नोस्–
हामी वामपन्थीहरू, जो जन्मजातै गणतन्त्रवादी भनेर हिँड्छौँ हामीले आफूलाई । २०४६ सालपछि यो ०४७ को संविधान मान्नुपर्छ, संवैधानिक राजासँग पनि सम्झौता गरेर जान सकिन्छ भन्ने विचार बनायौँ । त्यो रूपान्तरण नभएको भए कसरी हुन्थ्यो ? त्यो विचारले काम लागेन, किनकि सम्झौता राजाले भंग गरेका थिए । हामीले होइन । तिमीसँगको सम्झौता भंग भयो, हामी अघि बढ्यौँ भन्यौँ । बन्दुक र सेनाबाहेक कुट्ने र मार्ने र हान्नेबाहेक केही नदेखेको माओवादी कसरी ०७२ को संविधानमा आयो ? जहाँ बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, मान्छेको मूल्य, राजनीतिक चेतनाको कुरा छ, त्यो हिजोको माओवाद सिद्धान्तमा त्यति मेल खाने कुरा थिएन । आज यहाँ आइपुगेको माओवादी रूपान्तरणबिना कसरी आयो ? हो, हामी आवश्यक पर्दा रूपान्तरण हुँदा रहेछौँ । राजनीतिक पार्टी पनि, नेता पनि आज फेरि एकपटक, अर्को एक झमट रूपान्तरणको आवश्यकता छ । त्यसले हामीलाई यहाँभन्दा अझ माथि लैजान्छ । आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पुर्याउने । आज राज्य जनतासँग नजिक भएको अनुभूति भएन । सुशासन, डेलिभरीका कुराहरू छन्, जो सहज हुनुपर्ने थियो, त्यो सहज नहुँदा मध्यमवर्ग छट्पटिएका छन् । गिटी कुट्ने, मकै पोलेर खानेलाई राज्यले खोजेको पनि छैन । राज्यले केही दिएको छैन । न्युज एजेन्सी नेपाल