
काठमाडौं । भारतले पाकिस्तानविरुद्ध प्रतीकारात्मक कदमहरू बढाउँदै लगेको छ । शनिबारबाट भारतमा पाकिस्तानी अभिनेता र क्रिकेटरका सामाजिक सञ्जालका खाता हेर्न नमिल्ने, व्यापारिक प्रतिबन्ध बढाउने र डाक सेवा रोक्ने निर्णय गरिएको छ ।
गत महिनाको अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आतंकवादी आक्रमणमा २६ जना पर्यटक मारिएका थिए । उक्त घटनामा पाकिस्तानले सहयोग गरेको भारतले आरोप लगाएको छ । तर पाकिस्तानले सोे आरोपलाई खारेज गरेको छ ।
पाकिस्तानी सेनाले शनिबार सतह–देखि–सतह मिसाइल हतियार प्रणालीको प्रशिक्षण प्रक्षेपण गरेको घोषणा गरेपछि तनाव अझ बढेको छ ।
भारतको सञ्चार मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै हवाई र सतह मार्गबाट पाकिस्तानबाट आउने सबै प्रकारको डाक र पार्सलको आदानप्रदान रोक्ने निर्णय गरेको समाचार संस्था एफपीले बताएको छ ।
शनिबार थप प्रतिबन्धअन्तर्गत भारतमा पाकिस्तानका पूर्वप्रधानमन्त्री र क्रिकेट कप्तान इमरान खानको इन्स्टाग्राम खाता भारतबाट हेर्न नमिल्ने बनाइएको हो । बलिउड चलचित्रका नियमित कलाकार फवाद खान र आतिफ अस्लमलगायत क्रिकेटर बाबर आजम, मोहम्मद रिजवान र पूर्वखेलाडी शाहिद अफ्रिदी र वासिम अक्रमलको खाता पनि भारतबाट हेर्न नसक्ने गरी प्रतिबन्धित गरिएको छ ।
ओलम्पिक स्वर्णपदक विजेता अर्शाद नदिमको इन्स्टाग्राम खाता पनि भारतीय प्रयोगकर्ताका लागि अब पहुँचयोग्य नरहेको बताइएको छ । यसले क्रिकेट मात्र नभएर अरू क्षेत्रमा पनि प्रतिबन्धको असर देखाएको छ ।
भारतका प्रयोगकर्ताहरूले यी खाताहरू हेर्न खोज्दा कानुनी अनुरोध पालना गर्नुपर्ने कारण यी खाता उपलब्ध नरहेको भन्ने सन्देश देखाइएको छ ।
भारतले अप्रिल २८ मा पाकिस्तानी समाचार संस्थासहित उत्तेजक सामग्री प्रसारण गरेको आरोपमा एक दर्जनभन्दा बढी पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको थियो ।
यसअघि नै यी दुई परम्परागत प्रतिद्वन्द्वी देशहरूले एकअर्काका नागरिकहरूलाई निष्कासन गरिसकेका छन् । मुख्य सीमा नाका बन्द गरिसकेका छन् भने एकअर्काको हवाईसीमा प्रवेशमा प्रतिबन्ध लगाएका छन् ।
पाकिस्तानी झण्डा बोकेका जहाजहरूलाई भारतीय बन्दरगाहमा प्रवेश रोकिएको र भारतीय जहाजहरू पनि पाकिस्तानमा जान नपाउने बताएको छ । शनिबार सिपिङ महानिर्देशनालय (डीजीएस)को आदेश भन्दै यस्तो प्रतिबन्ध लगाइएको भारतीय मिडियाले जनाएका छन् । तर, यो केवल प्रतीकात्मक कदम हो किनभने दशकौँदेखि सीमा विवादले दुवै देशबीच घनिष्ट आर्थिक सम्बन्ध छैन ।