
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई राहत दिन कोष स्थापना गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
“समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी प्राधिकरणमार्फत कोष स्थापना गरिनेछ,” राष्ट्रपति पौडेलले भने, “सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति तयार गरिने छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्याहरू समाधान गरिने छ ।”
सहकारी ऋण सूचना तथा बचत सुरक्षण तथा ऋण असुली न्यायाधिकरण स्थापना गरिने पनि राष्ट्रपति पौडेलले बताए ।
त्यसैगरी सहकारी तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचनाको मापदण्ड कायम गर्दै सहकारी तथा गरिबी सम्बन्धी सूचना प्रणालीको स्तरोन्नति गरिने पनि राष्ट्रपति पौडेलको भनाइ छ ।