
काठमाडौं । लोडसेडिङ हुन नदिन भारतबाट अझै ठूलो परिमाण बिजुली आयात गर्नुपर्ने देखिएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको श्वेतपत्रमा माग र आपूर्तिको असन्तुलन आर्थिक वर्ष २०८३/०८४ सम्म हुने उल्लेख गरेको छ । चालु आर्थिक वर्षमा माग र आपूर्ति असन्तुलन मिलाउन भारतबाट ८ सय मेगावाटसम्म बिजुली आयात भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को सुक्खायाममा ७ सय ९१ मेगाबाट र आर्थिक वर्ष २०८३/८४ को सुक्खा मौसममा ७ सय २८ मेगावाट बिजुली अपुग भएपछि भारतबाट आयात गर्नुपर्ने अवस्था देखिएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
उनले राष्ट्रिय विद्युत प्रणालीमा वर्षा तथा सुक्खायामको विद्युत माग र आपूर्तिबीच फरक किसिमको असन्तुल रहेको बताएका छन् । “एकातिर वर्षायामको विद्युत आंशिक रूपमा खेर गइरहेको छ भने अर्कोतिर सुक्खामा माग पूर्ण रूपमा आपूर्ति गर्न सकिएको छैन। आगामी दिनमा यसको व्यवस्थापन अझ बढी चुनौतीको रूपमा देखिएको छ,” उनले भनेका छन् ।
प्राधिकरणको प्रक्षेपणअनुसार आर्थिक वर्ष २०८२/८३ को वर्षायाममा करिब २६ सय ४८ मेगावाट र आर्थिक वर्ष २०८३/८४ को वर्षायाममा ३३ सय १६ मेगावाटसम्म बिजुली बचत हुनेछ ।
जगेडा विद्युत निर्यात हुनुपर्ने देखिन्छ । अहिलेसम्म भारतले नेपालबाट १ हजार मेगावाट बिजुली किन्ने भएको छ । माग र आपूर्तिबीचको असन्तुलनको दिगो समाधान र ऊर्जा सुरक्षाको लागि अर्धजलाशय, जलाशय र पम्प जलाशययुक्त आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माण गरी ऊर्जा भण्डारण गर्नुपर्ने कार्यकारी निर्देशक शाक्यले बताए ।
विद्युत खपतको वार्षिक वृद्धिदर हालको १२.१४ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याउनुपर्ने उनको भनाइ छ ।