
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसिटी)ले सरस्वती क्लबविरुद्ध ४–३ को रोमाञ्चक जित निकालेको छ ।
बिहीबार सातदोबाटास्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा सरस्वतीले दुईपटक अग्रता लिए पनि जोगाउन सकेन ।
खेलको ३६औँ मिनेटमा विशाल लामाले सरस्वतीलाई अग्रता दिलाए । पहिलो हाफमा पाएको यो अग्रता सरस्वतीले लामो समयसम्म जोगाउन सकेन । लगत्तै चार मिनेटमा आरसीटीका अजित गुरुङले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।
५३औँ मिनेटमा सन्देश खत्रीले गोल गर्दै सस्वतीलाई पुनः अग्रतामा राखे । दोस्रो हाफमा बनाएको दोस्रो अग्रतालाई पनि जोगाउन नसक्दा सरस्वतीले तीन अंक गुमायो ।
६५औँ मिनेटमा प्रज्वल गुरुङले गोल गर्दै आरसीटीलाई खेलमा फर्काए । त्यसको दुई मिनेटपछि नै सजन पाख्रिनले गोल गरेपछि आरसीटीले ३–२को अग्रता बनायो ।
७०औँ मिनेटमा प्रज्वलले गोल गरेपछि आरसीटीले अग्रतालाई ४–२ मा पुर्याएको थियो ।
खेलको इन्जुरी समयमा नरेशकुमार खत्रीले सरस्वतीका निम्ति एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
जितसँगै आरसीटी रेलिगेसन जोनबाट उक्लेको छ । दोस्रो जितबाट पुछारमा रहेको आरसीटी कुल नौ खेलमा दुई जित, दुई बराबरी र पाँच पराजयसहित आठ अंक बनाउँदै १०औँ स्थानमा उक्लेको हो ।
पराजित सरस्वती भने नौ खेलमा सातौँ हार व्यहोर्दै दुई जित र सात पराजयबाट ६ अंकका साथ रेलिगेसन जोनमा सीमित छ ।