
काठमाडौं । चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टोली बनेको छ । प्रतियोगिताको सर्वाधिक सफल टोलीमध्येको एक चेन्नाई बुधबार राति पञ्जाब किंग्ससँग चार विकेटले पराजित हुँदै प्लेअफ नपुग्ने भएको हो ।
चेन्नाईले हालसम्म पाँचपटक आईपीएलको उपाधि जितेको छ । चेन्नाईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि उचालेको थियो ।
घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको चेन्नाईले १९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो । १९१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको पञ्जाबले दुई बल बाँकी रहँदा ६ विकेट गुमाउँदै जित निकालेको हो ।
पञ्जाबको जितमा कप्तान श्रेयस ऐयर र प्रभसिमरन सिंहले अर्धशतक बनाए । तेस्रो नम्बर क्रिजमा पुगेका ऐयरले ४१ बलमा पाँच चौका र चार छक्कासहित सर्वाधिक ७२ रन बनाएका हुन् । ओपनर सिंहले ३६ बलमा पाँच चौका र तीन छक्कासहित ५४ रन जोडे । ऐयर र प्रभसिमरनबीच ५० बलमा ७२ रनको साझेदारी भएको थियो ।
त्यसअघि, पहिले ब्याटिङ गरेको चेन्नईका निम्ति साम करनले ४७ बलमा नौ चौका र चार छक्कासहित सर्वाधिक ८८ रन बनाए । डेवाल्ड ब्रेभिसले ३२ रनको योगदान गरे । करन र ब्रेभिसबीच चौथो विकेटका निम्ति ५० बलमा ७८ रनको बलियो साझेदारी भएको थियो ।
पञ्जाबका युजभेन्द्र चहलले ह्याट्रिक विकेट लिए । उनले तीन ओभरमा ३२ रन खर्चंदै चार विकेट हासिल गरे । चहलले १८औ ओभरमा दीपक हुडा, अन्सुल कम्बोज र नूर अहमदलाई आउट गराएका थिए ।
छैटौँ जितले पञ्जाबको प्लेअफ सम्भावना बढाएको छ । टोली १० खेलबाट १३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । १० खेलमध्ये जम्मा दुई जित निकालेको चेन्नई चार अंकसहित पुछारमा छ ।