
काठमाडौं । कुल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण (रेमिट्यान्स)को हिस्सा बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको २५.८९ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा जीडीपीको २५.३२ प्रतिशत विप्रेषण प्राप्त संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्यांकअनुसार उक्त वर्षमा जीडीपीको २३.१२ प्रतिशत विप्रेषण प्राप्त भएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भइ १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भइ सात अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।