
काठमाडौं । सञ्चारिका समूहकी नवनिर्वाचित अध्यक्ष कमला पन्थीले समूहको गरिमा र गर्विलो इतिहासलाई अक्षुण्ण राख्न कुनै कसर बाँकी नराख्ने प्रण गरेकी छिन् ।
नयाँ समितिलाई कार्यभार हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै उनले चुनाव प्राविधिक कुरा भएकाले यसमा जित र हारको प्रधानताभन्दा पनि सामूहिक भावनाको स्थान ठूलो र अटल हुने बताइन् ।
आगामी समय सोचेभन्दा कठिन र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष पन्थीले सबैको साथ, सहयोग, ढाडस र सहकार्यले त्यसलाई पन्छाउन सक्ने अदम्य अठोट रहेको बताइन् ।
“चुनावमा विभिन्न समूहमा बाँडिएर सहभागी भए पनि हामी सबैको एकमात्र उद्देश्य र लक्ष्य भनेको सञ्चारिकाको साख र गरिमालाई उँचो राख्ने नै हो,” उनले भनिन्, “यसर्थ सञ्चारिका समूह सिंगो र एकत्रित भएर अघि बढ्नेमा कुनै शंका नपाल्न सबैमा अनुरोध गर्दछु ।”
वैशाख ६ गते सम्पन्न सञ्चारिका समूहको नवौँ अधिवेशनबाट अध्यक्षमा पन्थी, उपाध्यक्षमा वसन्ती वास्तोला, महासचिवमा राधा खनालसहित निर्वाचित भएका थिए ।