
काठमाडौं । सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मंसिर १३ देखि २० गतेसम्म हुने भएको छ । काठमाडौंमा हुने प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथलेटिक्स र इ–स्पोर्टस गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । कार्यक्रमको उद्देश्य नवप्रतिभाको पहिचान र खेलकुदको विकासमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ ।
आयोजक सार्थकका अध्यक्ष सुसन दुलालले नेपाल युथ गेम्सले देशभरका खेलकुद प्रतिभालाई एकजुट गर्दै दीर्घकालीन विकासको आधारशिला बनाउने उद्देश्य रहेको बताए । उनले १० वर्षे योजना बनाएका र यो पहिलो वर्ष भएकाले प्रदेशस्तरबाट मात्रै खेलाडी छनोट गरेको उल्लेख गरेका छन् ।
आगामी वर्षदेखि ७७ वटै जिल्लाबाट खेलाडी छनोट गरेर ल्याउने उनको योजना छ । अध्यक्ष दुलालले विभिन्न विद्यालयसँगको सहकार्यमा खेलाडी छनोट गरिने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा करिब एक हजार खेलाडीको सहभागिता रहनेछ ।