
काठमाडौं । यसै वर्ष आयोजना हुने तालिका रहेको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिप एक वर्षपछि सरेको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता सरेको जनाएको हो । साफका अनुसार, साफ च्याम्पियनसिप २०२६ मा आयोजना हुनेछ ।
प्रतियोगिताको आयोजनाका निम्ति साफले यसअघि श्रीलंकालाई आयोजना अधिकार दिएको थियो । साफले जारी गरेको विज्ञप्तिमा प्रतियोगिता ‘होम अर अवे’ संरचनामा आयोजना गरिने हुँदा त्यसका निम्ति तयारीका निम्ति पर्याप्त समय नरहेका कारण च्याम्पियनसिप सार्नुपरेको जनाएको छ । यसअघि साफ जुलाईमा आयोजना हुने तालिका थियो ।
प्रतियोगिता सरेको जानकारी दिए पनि महासंघले आगामी वर्षको निश्चित मिति भने सार्वजनिक गरेको छ ।
दक्षिण एसियाकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको साफ च्याम्पियनसिपमा यस क्षेत्रका सात टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् ।