
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भयो । बाम्का बजारस्थित नवदुर्गा होटेलमा ग्यास सिलिन्डर पड्किएर आगलागी सुरु भएको थियो । त्यसपछि आगो बाम्का बजारका अन्य पसलमा फैलिएको थियो ।
आगो निभाउन नगरपालिकासँग दमकल थिएन । न त आसपासकै पालिकामा । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली तथा स्थानीयहरूले आगो निभाउन अधिक मेहनत गरे । डोजर र ट्याक्टरको सहायताले आगो नियन्त्रणमा ल्याउन सफल भयो ।
दमकल नभएपछि डोजरले संरचना भत्काउने र ट्याक्टरले बुढीगंगा नदीको पानी ल्याएर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शुक्रबार दिउँसो ३ः५५ बजे लागेको आगो साँझ मात्रै नियन्त्रणमा आयो ।
“आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली तथा स्थानीयको अधिक साथ र सहयोग रह्यो,” प्रहरी निरीक्षक देवबहादुर चौधरीले भने, “दमकल नभएपछि डोजरले संरचना भत्काउने र ट्याक्टरले बुढीगंगा नदीको पानी ल्याएर आगो नियन्त्रणमा ल्याउन सफल भयौँ ।”
आगलागीमा ४० भन्दा बढी पसल जलेर पूर्ण रूपमा नष्ट भएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए । तर, क्षतिको विवरण भने संकलन गरिनसकेको जानकारी दिए । “बाम्का बजारमा रहेका १२० को संख्यामा रहेका पसलमध्ये ४० वटा पूर्ण रूपमा जलेको प्रारम्भिक अनुमान छ,” नगरप्रमुख बानियाँले भने ।