-1744985963.jpg)
पोखरा । शैक्षिक क्षेत्र ठप्प पारेर शिक्षकहरू २२ दिनदेखि लगातार काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । उनीहरूको आन्दोलनकै कारण नयाँ शैक्षिक सत्र सुरु हुन सकेको छैन ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा देशैभरका शिक्षकहरू विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् ।
शिक्षकहरूले आन्दोलन चर्काइरहेकै बेलामा स्याङ्जाको हरिनास गाउँपालिकाले भने शिक्षकलाई पढाइ भएको दिनदेखिबाट मात्रै सुविधा उपलब्ध गराउने जनाएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले शिक्षकहरूलाई विद्यालय खोल्न र पठनपाठन गर्न भन्दै सूचना जारी गरेको छ ।
गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “हरिनास गाउँपालिकाभरका विद्यालयहरूका शिक्षक, कर्मचारी तथा बाल शिक्षकहरूको विद्यालयमा पठाइ भएको दिनदेखिको मात्रै तलब निकासा हुनेछ ।”
शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।
उनीहरूले अघि सारेका माग एवं यसअघि सरकारसँग भएको सहमतिअनुसार शिक्षकको ग्रेड मिलान, सञ्चिति बिदा, निवृत्तिभरण, मर्यादाक्रम, पद समायोजन जस्ता विषयहरूमा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । शिक्षक महासंघले बुझाएको २४ बुँदा सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी उनीहरूले दिएका छन् ।
सरकारसँग भएको सहमतिअनुसार शिक्षकको पेसागत हकहित सुनिश्चित हुने गरी शिक्षा ऐन ल्याउने ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने महासंघले जनाएको छ ।