
भैरहवा (रूपन्देही) । रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ । दुई बालक अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२, सानो अर्दौलाका तीन बालक साथीसँगै गाउँ नजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए । बगहा बाबा मन्दिर नजिकै नुहाउने क्रममा तीनैजना नदीको गहिरो भागमा पुगेको प्रत्यक्षदर्शी एक बालकले जानकारी दिएको वडाध्यक्ष ईनामुल्ला फकिरले जानकारी दिए ।
मृत अवस्थामा भेटिएका बालकको मूल घर त्यही भए पनि उनी बुबाआमासहित रूपन्देहीकै सैनामैना बस्थे । हाल विद्यालय बिदा रहेकाले उनी दुई दिनअघि मात्रै मूल घर आएका थिए ।
बेपत्ता अन्य दुई बालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
सोमबार दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिका–२, अर्दौलामा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा सोही वडामा बस्ने राजनसहित १३ वर्षीय उमेश यादव र १२ वर्षीय मन्नु हरिजन बेपत्ता भएका थिए । रासस