
काठमाडौं । आन्तरिक मन्त्रीअली येर्लिकायाले सहरमा ६.२ म्याग्निच्युडको भूकम्प गएपछि परकम्पको डरले एक लाखभन्दा बढी इस्तानबुलका बासिन्दाले आफ्नो घरबाहिर रात बिताएको बताएका छन् । बिहीबार (अप्रिल २४) इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले सहरभर मस्जिद, विद्यालय र छात्रावासमा कुल एक लाख एक हजार नागरिकलाई अस्थायी आश्रय प्रदान गरिएको बताए ।
प्रभावितलाई अस्थायी रूपमा खानपानको व्यवस्था गरिएको छ । पालहरूमार्फत खाना वितरण गरिएको उनले जानकारी दिए ।
फातिह जिल्लास्थित एउटा परित्यक्तबाहेक सहरमा कुनै पनि आवासीय भवन नभत्किएको वातावरण, सहरीकरण र जलवायु परिवर्तनमन्त्री मुरत कुरुमले बताए ।
स्वास्थ्यमन्त्री केमाल मेमिसोग्लुले भूकम्पको समयमा आतंकित भएर वा भवनबाट हाम फालेर घाइते भएका ६० जनाको उपचार भइरहेको जानकारी दिए ।
भूकम्पको केन्द्रविन्दु इस्तानबुलको तटभन्दा ठिक बाहिर मारमारा समुद्रमा थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल