
काठमाडौं । जीवनमा गणितको प्रयोगलाई प्रोत्साहित गर्न इम्बार्क अनम्याथले फरक तरिका ल्याएको छ । संगीत, कला, वास्तुकला र खेलकुदसँग जोड्दै गणितलाई केवल एउटा विषय मात्र नभई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने लक्ष्य लिएको इम्बार्कले जनाएको छ ।
प्रकृतिदेखि हाम्रा हरेक वित्तीय निर्णयहरूका पछाडि गणितको तर्क जोडिएको हुन्छ । तर, परम्परागत शिक्षण प्रक्रियाले उक्त कुराहरूलाई जोड्न सकिरहेको छैन । इम्बार्क अनम्याथले भने उक्त समस्यालाई औँल्याउँदै विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान सिकाउँछ जसले उनीहरूलाई गणितले कसरी हाम्रो संसारलाई आकार दिन्छ भन्ने बुझ्नमा मद्दत पुर्याउने जनाएको छ ।
परम्परागत शैक्षिक प्रणालीमा हाबी रहेको नेपालमा इम्बार्क अनम्याथको नयाँ तरिकाले राम्रो प्रतिक्रिया प्राप्त गरेको जानकारी दिएको छ । यो कार्यक्रम अपनाएका स्कुलहरूले गणितमा विद्यार्थीको संलग्नता बढ्नुका साथै उनीहरूको आत्मविश्वासमा सुधार भएको बताएका छन् । अफ्ठ्यारा फर्मुलाहरूको सट्टा वास्तविक जीवनमा लागु हुने प्रयोगहरूमा ध्यान केन्द्रित गरेर विद्यार्थीहरूलाई गणितको डर हटाउन र समस्या समाधान गर्ने सीपहरू सिकाउन इम्बार्क अनम्याथले मद्दत गर्दछ ।
विद्यार्थीहरूले प्रकृतिका ढाँचाहरू पहिचान गर्दा होस्, खेलकुद रणनीतिहरू विश्लेषण गर्दा होस् वा संगीतको पछाडिको गणित गर्दा होस्, इम्बार्क अनम्याथले दैनिक जीवनको एक हिस्सा गणित हो भन्ने प्रयास गरेको जनाएको छ ।
इम्बार्क अनम्याथको सफलताले यो दृष्टिकोण अब नेपालभर विस्तार हुँदै जाने सम्भावना झनै बढेको छ । यस संस्थाले सरकार र शैक्षिक बोर्डहरूसँग सहकार्य गरी गणितको यो फरक अध्ययन माध्यमलाई मुख्य पाठ्यक्रममा समावेश गर्ने लक्ष्य राखेको छ । गणित परम्परागत शिक्षाबाट परिवर्तन भएर जिज्ञासा, अन्वेषण र वास्तविक संसारको बुझाइमा प्रयोग हुनेछ भन्ने इम्बार्क अनम्याथले विस्वास लिएको छ । इम्बार्क अनम्याथ विद्यार्थीहरूलाई आखिरमा “म गणितलाई हरेक ठाउँमा देख्न सक्छु” भन्नेसम्म बनाउने कम्पनीले जनाएको छ ।