
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा वर्तमान राजनीतिक परिस्थिति, शिक्षक आन्दोलन र आगामी केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल भएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार, बैठकमा नेताहरूले सरकारको काम अझ राम्रो हुनुपर्नेमा जोड दिएका थिए । "गठबन्धन दलबीच थप समन्वयन हुनुपर्यो, सन्तुलन पनि हुनुपर्यो भन्ने विषय आएको छ," महतले भने ।
बैठकमा नेताहरूले सत्ता साझेदार दलहरूबीच राम्रो तालमेल हुनुपर्ने बताएको बताएको उनको भनाइ छ ।
छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि राखेका थिए । उनीहरूले सत्ता साझेदार दलहरूबीच समन्वय हुन नसकेको र आफूहरूको मतको सम्बोधन नभएको गुनासो गरेका थिए ।
"उहाँहरूले आफ्ना कुराहरू राख्नुभएको छ, हामीले भनेको कुरालाई महसुस पनि गर्नुभएको छ," उनले भने ।