काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेकजसो चुनावीसभामा १० दिनको समय पाए पार्टी एकता गरेरै चुनावमा होमिने अवस्था आइसकेको भन्दै पटक पटक सम्बोधन गरे ।
उनीहरुले त्यतिमात्रै होइन, कथम्कथाचित सरकारले चुनाव सार्यो भने पार्टी एकता नै गरेर अघि बढ्ने धारणा पनि अघि सारे । तर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको डेढमहिना बितिसक्दासमेत एकता प्रक्रिया अघि बढ्न सकेको छैन ।
मुख्य विवाद सरकार र पार्टीको नेतृत्व कसले गर्ने भन्नेमै देखिएको छ । नेकपा एमालेले ठूलो दलको हैसियतमा सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने धारणा राखेको छ भने पार्टीको नेतृत्व पनि माओवादीलाई सहजै दिन तयार देखिएको छैन ।
तर माओवादीले सरकार र पार्टीको नेतृत्वमध्ये एक आफूले पाउनुपर्ने धारणा राख्दै आएको छ । नेताहरुका अनुसार यसविषयमा विभिन्न विकल्पमा अहिले छलफल भइरहेका छन् ।
माओवादी केन्द्रका नेताहरुले निर्वाचनमा नेपाली जनताले एमाले र माओवादीबीच हुने एकतालाई मतदान गरेको भन्दै दुवै पार्टीका तलदेखि माथिसम्मका नेताहरुमा ‘पावर सेयरिङ’ हुनुपर्ने बताउँछन् ।
“माओवादीले एउटा पद पाएन भने एमालेसँग पार्टी एकता गर्दै गर्दैन भन्ने हुँदै होइन,” माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बाह्रखरीसँग कुरा गर्दै भने, “के कुरा प्रष्ट हुनुपर्छ भने पार्टी एकताका लागि सिद्धान्त विचारधारा मिलिसकेपछि नेतृत्व प्रणालीमा पनि मिल्नुपर्दछ । पावर सेयरिङ प्रमुख नेताहरुदेखि अन्य नेताहरुको पनि माथिदेखि तलसम्म मिलाउनुपर्छ ।”
उनले दुवै पार्टीभित्र प्रयाप्त छलफल भइनसकेको बताए । “दुवै पार्टीभित्र प्रयाप्त छलफल भइनसकेको कारणले पार्टी एकता संयोजन समितिको बैठक बस्न पनि ढिला भइरहेको छ । पावर सेयरिङ र नेतृत्व प्रणाली निर्माण नगरी पार्टी एकता हुँदैन,” उनले भने ।
उनले नेपाली जनताले एमाले र माओवादीबीचको गठबन्धन चुनावी तालमेलको लागि मात्र अनुमोदन नगरेको पनि बताए ।
नेपाली जनताले एमाले र माओवादीबीचको चुनावी तालमेललाई मात्र अनुमोदन गरेका होइनन्,” नेता पोखरेलले अगाडि भने, “वामपन्थी सरकार, प्रगतिशील एजेण्डा र पार्टी एकतालाई अनुमोदन गरेका हुन् । सरकार बनाउने काम राष्ट्रियसभाको चुनावपछि मात्र हुने भएकाले पार्टी एकताको कामलाई उच्च प्राथमिकता दिनुपर्छ ।”
माओवादी केन्द्रका अर्का नेता देवेन्द्र पौडेलले पनि माओवादी केन्द्रले दुईवटा पद प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा माओवादीले पाउनुपर्ने बताए । उनले भने, “दुईवटा पदमध्ये एउटा माओवादीले पाउनुपर्छ । एमालेले हामीलाई एउटा पद दिन तयार हुनुपर्छ । हाम्रो छलफल भइरहेको छ ।”
माओवादी केन्द्रकै नेता टोपबहादुर रायामाझीले पनि दुईवटा पदमध्ये एउटा माओवादी केन्द्रले पाउनुपर्ने बताए । “माओवादी केन्द्रले प्रधानमन्त्री या पार्टी अध्यक्षको पद पाउनुपर्छ,” रायमाझीले भने, “जनताले अनुमोदन गरिसकेपछि माओवादीले पद खोज्दै हिँड्ने होइन, पाउने हो ।”
नेता अग्नी सापकोटाले पार्टी एकताबाट दुवै पार्टी पछाडि फर्कन नहुने भन्दै पदको विषयमा एकताबारे कसैलाई पनि शंका नगर्न आग्रह गरे । सापकोटाले बाह्रखरीसँग कुरा गर्दै भने, “एमाले र माओवादीबीचको पार्टी एकता कुनै पनि हालतमा रोकिँदैन । कसैले हाम्रो एकताबारे शंका गर्नुपर्दैन । ढुक्क भएर बस्दा हुन्छ ।”
एकता संयोजन समितिको पनि बैठक बसेन
एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक लामो समयसम्म बस्न सकिरहेको छैन । भर्खरै सम्पन्न भएको चुनावी परिणाममाथि छलफल र एजेण्डा तय नहुँदा बैठक बस्न नसकेको हो ।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको लागि एजेन्डा तय नहुँदा पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेको बताए ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले एजेण्डा पुरा गरिसकेकपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताए ।
एमालेका नेता इश्वर पोखरेलले पनि दुबै पार्टीभित्रको आन्तरिक छलफल र चुनावी परिणाममाथिको छलफल भएकाले एकता संयोजन समितिको बैठक बस्न नसकेको बताए ।