
काठमाडौं । भारतीय विदेश सेवा (आईएफएस) अधिकृत निधि तिवारी प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवमा नियुक्त भएकी छिन् ।भारत सरकारको कार्मिक र प्रशिक्षण विभाग (डीओपीटी)ले यो आदेश तत्काल लागु हुने जनाएको छ ।
डीओपीटीले मार्च २९ मा यस सम्बन्धमा आदेश जारी गर्दै मन्त्रिपरिषद्को नियुक्ति समितिले गरेको निधिको नियुक्तिलाई अनुमोदन गरेको जनाएको छ।
उनको नियुक्ति सह–कार्यकालको आधारमा गरिएको हो । सह–कार्यकाल भन्नाले प्रधानमन्त्रीको कार्यकालको अन्त्यसम्म वा अर्को आदेश नभएसम्मको कार्यकाल सम्झनुपर्छ ।
यो पदमा रहेर निधि तिवारीले अब प्रधानमन्त्री मोदीको दैनिक प्रशासनिक काम जस्तै कार्यतालिका व्यवस्थापन, नीति तथा प्रशासनिक समन्वय र सञ्चार आदि सम्हाल्नेछिन् ।
निधि विगत साढे दुई वर्षदेखि प्रधानमन्त्री कार्यालय (पीएमओ)मा कार्यरत थिइन् । निजी सचिव हुनुअघि उनी पीएमओमा उपसचिवको रूपमा कार्यरत थिइन् । यस पदमा रहँदा उनले विदेश र सुरक्षा मामिलासँग सम्बन्धित प्रमुख विभागहरू सम्हाल्दै आएकी थिइन्।
सन् २०१४ ब्याचकी आईएफएस निधिले २०१३ मा निजामती सेवा परीक्षामा ९६औँ स्थान प्राप्त गरेकी थिइन् । बीबीसी