site stats
बाह्रखरी :: Baahrakhari
देश
अख्तियारको ‘कोभर्ट अपरेशन’ मा परेका तीर्थ भट्टराई, भिजिट भिसाको केन्द्र दुबई !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख सहसचिव तीर्थ भट्टराईमाथिको अनुसन्धान अघि बढाएको छ । भिजिट भिसामा विदेश जानेहरूबाट मोटो आर्थिक लाभ लिएर पठाउने गरेको ‘क्लु’ फेला पारेपछि अख्तियारको टोलीले गत जेठ ७ गते भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।

अख्तियारको टोलीले त्यही दिन विमानस्थलस्थित अध्यागमन कार्यालय र अन्य दुईवटा ट्राभलमासमेत छापा मारेको थियो । सहसचिव भट्टराईसहित ट्राभलका सञ्चालकहरूको मोबाइल नियन्त्रणमा लिँदै उनीहरूलाई घर फर्काएको थियो, अख्तियारले ।

ट्राभल सञ्चालकको मोबाइलमा ‘भिजिट भिसा’ सम्बन्धमा भट्टराईसँग भएको कुराकानी र प्रमाणहरू फेला परेको स्रोतको दाबी छ ।

Argakhachi Cement Island Ad

स्रोतले दिएको जानकारीअनुसार ट्राभल सञ्चालक पहिलेदेखि नै विवादमा आएका व्यक्ति हुन् । “उनी सुन प्रकरणमा पनि मुछिएका व्यक्ति हुन्, उनका विगतका काम हेर्दा पनि त्यति राम्रो देखिँदैन,” स्रोतले भन्यो ।

केही दिन अख्तियारले आन्तरिक तयारी गरेर उनीहरूसँग बयान लिन थालिएको स्रोत बताउँछ । अख्तियारले भट्टराईसहित अन्य आरोपीहरूलाई दैनिक बयानका लागि बोलाउन थालेको हो ।

उनीहरूलाई बिहानै बयानका लागि अख्तियारको कार्यालय टंगाल बोलाउने गरेको अख्तियार स्रोतले जानकारी दिए । लामो समयदेखि अध्यागमनका कर्मचारी, म्यानपावर व्यवसायी, ट्राभल एजेन्सीसित मिलेर मोटो रकम लिँदै खाडी मुलुकहरूमा महिलालाई भिजिट भिसामा पठाउने धन्दा चलेको थियो । 

भट्टराई विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हुदाँसमेत त्यही धन्दाले निरन्तरता पाएको सूचनाका आधारमा अख्तियारको टोलीले अनुसन्धान थालेको हो ।

अख्तियारले अनुसन्धान थालेकै बेला उनलाई गृह मन्त्रालयले जेठ ६ गते विमानस्थलबाट गृह मन्त्रालयमा तानेको थियो । गृह मन्त्रालय स्रोतले भने यसलाई नियमित प्रक्रिया भनेको छ । “हामीले बेला–बेलामा त्यहाँ प्रश्न उठ्न थालेपछि नयाँ पठाउने र पुराना फर्काउने गरिरहेकै छौँ, भट्टराईलाई फर्काउनु र अख्तियारले समात्नु संयोगमात्रै मिलेको हो,” गृह मन्त्रालय उच्च स्रोतले भन्यो ।

उनका अनुसार, केही महिनाअघि सातजना उपसचिवलाई एकैसाथ फिर्ता बोलाइएको थियो । “हामीले यसअघि केही महिनामात्रै भएको छ, सातजना उपसचिवलाई एकसाथ फिर्ता बोलाएका थियौँ,” ती अधिकारीले भने ।

भट्टराईको फिर्ता पनि सोहीअनुसार भएको गृहको दाबी रहे पनि अख्तियार भने पत्याउन तयार छैन ।

अख्तियारले उनीमाथिको अनुसन्धान नरोकी एक दिनपछि नै नियन्त्रणमा लिएको थियो । अख्तियारले भट्टराईसहित गृह मन्त्रालयमै कार्यरत केही अधिकृतहरूको भूमिका माथिसमेत शंका गरेको जनाएको छ । खाडी मुलुकमा भिजिट भिसामा सामान्य महिलाहरूलाई पठाउने र त्यहाँ लुकेर काम गर्दा खोज्दा महिला मानसिक तथा शारीरिक रूपमा शोषणमा पर्दै आएका छन् । 

गृह मन्त्रलायले भने भिसाकै आधारमा कसैलाई भेदभाव गर्न नहुने दाबी गर्छ । “पासपोर्ट परराष्ट्र मन्त्रालयले दिन्छ, भिसा विदेशीले दिन्छन्, श्रम स्वीकृति श्रम विभागले दिन्छ,” ती अधिकारीले दाबी गर्दै भने, “यी सबै प्रक्रिया पूरा भएपछि उनीहरूले टिकट खरिद गर्छन् । गृहअन्तर्गतको अध्यागमनले यी सबै कागजात हेरेर पठाउने हो । यी सबै प्रक्रिया पूरा गरेर विमानस्थल पुग्ने व्यक्ति को घुम्न जान लागेको हो, को बेचिएको हो ? भन्ने हामीलाई कसरी थाहा हुन्छ ?”

त्यस्तै अवस्थामा त सेटिङ मिलाएर तपाईंहरूले छाडिदिनुहुन्छ रे हो ? भन्ने बाह्रखरीको प्रश्नमा आक्रोशित हुँदै ती अधिकारी भन्छन्, “तपाईं भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ भने हामीलाई कसरी थाहा हुन्छ ? तपाईं काम गर्न जाँदै हुनुहुन्छ कि घुम्न ? यो रोक्ने हो भने पासपोर्ट वितरणबाटै रोकिनुपर्छ ।”

अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा जानेहरूबाट रकम असुलेर पठाउने गरेको आरोपमा यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपरेशन नै चलाएको थियो । 

त्यतिबेलासमेत विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का बिचौलियाबाट रकम लिँदालिँदै रकमसहित पक्राउ परेका थिए । पछि अनुसन्धान गर्दै जाँदा खड्कामात्रै नभएर विमानस्थल अध्यागमन कार्यालयकै मिलेमतोमा भिजिट भिसामा जानेहरूबाट रकम असुली गर्ने र्‍याकेट नै रहेको खुलेको थियो । अनुसन्धानका क्रममा अधिकृतहरू शैलेन्द्र ढकाल, विमल पौडेल, ताराबहादुर कुँवर, सुजन फागोसहितका कर्मचारीमाथि मुद्दा नै चलाएको थियो ।

तर, उनीहरूले पछि जिल्ला अदालतबाट भने सफाई पाए । त्यसमध्येका विमल पौडेल गृहमन्त्री रमेश लेखकको निजी सचिवालयमा रहेको पाइएको छ । त्यतिमात्रै नभएर भिजिट भिसा प्रकरणलाई लिएर २०८० माघ दोस्रो साता प्रहरीले कर्मचारीमाथि हातपात गरेका थिए ।

अध्यागमन कर्मचारी र प्रहरीबीच ‘भिजिट भिसा’ प्रकरणबरो विगतदेखि नै मनमुटाव भएको थियो । कर्मचारी र प्रहरीबीच धकेलाधकेल नै भयो । प्रहरीले तत्कालीन विमानस्थल कार्यालयका प्रमुख गोगन हमालमाथिसमेत हातपात गरेका थिए ।

त्यसबेला प्रहरी र कर्मचारीबीच हानाहान नै भएको फुटेज सार्वजनिक भएको थियो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अनुसन्धानको दायरामा तानिएपछि गृहमन्त्री रमेश लेखकमाथिसमेत अनुसन्धान हुनुपर्ने माग प्रतिपक्षी राजनीतिक दलका नेताहरूको छ ।

यद्यपि गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गरी आफ्नो संलग्नता अस्वीकार गरिसकेका छन् । यसै विषयमा लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध भइरहेको छ । तर, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) ले गृहमन्त्री लेखकको राजीनामालाई बटमलाइन बनाएका छन् । 

जसकारण मंगलबार ११ बजेका लागि तोकिएको संसदको बैठकसमेत बुधबारका लागि सारिएको छ । प्र्रतिपक्षी दलहरूले जेठ १५ गते बजेट ल्याउन दिए पनि त्यसपछिका संसद् बैठक भने चल्न नदिने बताउँदै आएका छन् ।

अख्तियारले चलाएको थियो ‘कोभर्ट अपरेशन’

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विरलै मात्रामा ‘कोभर्ट अपरेशन’ चलाउने गरेको छ । सर्वोच्च अदालतले २०७८ वैशाखमा अख्तियारको ‘स्टिङ अपरेसन’को वैधानिकतामा प्रश्न उठेपछि रोकिएको थियो । ‘कोभर्ट अपरेशन’ आफैँमा जोखिमपूर्ण र विरलै गर्नुपर्ने अनुसन्धानमा मात्रै चलाइने गरिन्छ । 

प्रहरीको विशेष युनिटहरूले समेत गम्भीर र संगठित अपराधमा कोभर्ट अपरेसन चलाउँदै आएको छ । कोभर्ट अपरेशनमा अनुसन्धान गर्ने निकाय वा व्यक्ति आफैँ ग्राहक वा आफैँ कारोबारीको रुपमा प्रस्तुत हुनेगर्छ ।

विमानस्थलका तत्कालीन अध्यागमन प्रमुख तीर्थ भट्टराईको अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘कोभर्ट अपरेशन’ चलाएको पाइएको छ । संगठित रुपमा नै मोटो रकम लिएर लेख्न र पढ्नसमेत राम्रोसित नआउने महिलाहरूलाई खाडीलगायत जोखिमयुक्त देशसमेत जान अनुमति दिने गरेको सूचनाका आधारमा अख्तियारले कोभर्ट अपरेशन चलाएको हो ।

अख्तियारको कोभर्ट अपरेशनको राडारभित्र विमानस्थल अध्यागन प्रमुख तीर्थ भट्टराई परेका थिए । अख्तियारको टोलीले भट्टाराईसहित ‘द होलिडे ट्राभल’ का सञ्चालक बालकृष्ण पौडेल अर्को एक ट्राभल सञ्चालक खगेन्द्र सुवेदीसहितका आरोपीको मोबाइल परीक्षणका लागि प्रहरीको डिजिटल फरेन्सिक ल्याब पठाएको छ ।
 
त्यसबाटसमेत केही महत्वपूर्ण ‘क्लु’हरू फेला परेको स्रोत बताउँछ । ‘‘भिजिट भिसामा जानेहरूबाट रकम असुल्ने गरेको महत्वपूर्ण प्रमाण हामीसित छन् । यसमा भट्टराईको प्रत्यक्ष संलग्नता छ । ट्राभलका सञ्चालकले सिँधा भट्टराईलाई नै विदेश जानेहरूको नाम लिस्ट पठाउने गरेको फेला परेको छ । भट्टराईमार्फत नै ड्युटीमा खटिने अधिकारीहरूले पाउने गरेको देखियो,’’ एक अधिकारीले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईमाथि मुद्दा चलाउनुपर्ने यथेष्ट प्रमाण संकलन गरेपछि मात्रै नियन्त्रणमा दिएको हो । उसो त अख्तियार कोभर्ट अपरेशनमार्फत् घुससहितको रकम लिएर नियन्त्रणमा लिने प्रयासमा थियो । 

तर, उक्त सूचना अख्तियारबाटै चुहिएपछि पक्राउ पर्नबाट जोगिएको स्रोत बताउँछ । उनीबाहेक गृहमन्त्रालयका अन्य कर्मचारी तथा अध्यागमनका कर्मचारीमाथि समेत अख्तियारले अनुसन्धान गरिरहेको छ । 

गन्तव्य दुबई, किन पुग्छन् त्यहाँ ? 
भिजिट भिसाको गन्तव्य दुबई र कुवेत हो । एक व्यवसायीका अनुसार, सबैभन्दा बढी नेपालीलाई दुबई पठाइन्छ । त्यसको कारण चाहिँ दुबईले सहजै भिजिट भिसा दिन्छ । त्यहाँ पुगेपछि त्यसलाई ‘वर्किङ’ भिसामा परिवर्तन गर्न सकिन्छ ।

तर काम चाहिँ सहजै पाइँदैन । “त्यहाँ काम दिइन्छ भनी यहाँबाट दलालले हजारौँ नेपालीलाई त्यहाँ लगेर अलपात्र पारेका छन् । उनीहरू कामका लागि गएका हुन्, तर भिजिट भिसामा,” ती व्यवसायी भन्छन् ।

उनका अनुसार, यहाँका केही म्यानपावर व्यवसायीले दुवईमा आफ्नो काम सिफ्ट गरिसकेका छन् । “दुबईमा पुर्‍याएपछि युरोपसहित अन्य देशमा पठाउने भनी कैयौँ नेपालीलाई राखिन्छ,” उनले भने, “पठाउन सके उता पठाइन्छ, नभए नेपालै फिर्ता गरिन्छ । नेपाल नै फिर्ता गर्दा पनि दलाललाई घाटा छैन ।”

‘किन ?’ उनीहरूले त्यहाँबाट त्यसरी फिर्ता हुनेहरूलाई केही न केही सामान बोकाएर पठाउने गर्छन् ।

“एउटा ल्यापटप, मोबाइल, घडीलगायतका सामग्री उनीहरूको साथमा पठाइन्छ,” उनले भने, “त्यो सामान काठमाडौं आएपछि फिर्ता लिइन्छ । उनीहरूलाई दिएको टिकटको फाइदा त्यसबाट लिन्छन् ।”
 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्