
काठमाडौं । रुसका चार विमानस्थलमा आइतबार गरिएको आक्रमणमा ४१ विमान क्षतिग्रस्त भएको युक्रेनी अधिकारीले दाबी गरेका छन् । टु–२२ एम सुपरसोनिक लामो दूरीको बमवर्षक, टु–९५ फ्लाइङ फोट्र्रेस र ए–५० प्रारम्भिक चेतावनीयुद्धक विमान क्षतिग्रस्त भएको युक्रेनको गुप्तचर विभागले जनाएको छ ।
रुसले यी विमानमा भएको क्षतिका बारेमा कुनै टिप्पणी गरेको छैन । तर, उसले विमानस्थलमा युक्रेनी आतंकवादी आक्रमण भएको पुष्टि गरेको छ । ‘द स्पाइडरवेब’ नाम यो सैन्य अभियानको योजना र कार्यान्वयन गर्ने युक्रेनी सुरक्षा सेवा (एसबीयू)ले सार्वजनिक गरेको भिडियोमा केही मात्र विमान क्षतिग्रस्त भएको देखिन्छ ।
यी रणनीतिक बमवर्षक विमानमार्फत रुसी वायुक्षेत्रबाट ब्यालिस्टिक र क्रुज मिसाइल प्रक्षेपण गरी युक्रेनभरि आक्रमण गरिन्थ्यो । त्यसबाट ठूलो मात्रामा क्षति हुने गरेको थियो ।
यी बमवर्षक विमान रुसको न्युक्लियर ट्रायडको एकतिहाइ हुन् । त्यसमा परमाणु मिसाइल र मिसाइल लागेका युद्धपोत पनि समावेश छन् ।
केही पर्यवेक्षकका अनुसार, उक्त आक्रमणले विश्वव्यापी पहुँच भएको परमाणु महाशक्तिको रुसको छविलाई ध्वस्त पारिदिएको छ ।
युक्रेनी सेनाका पूर्वउपप्रमुख लेफ्टिनेन्ट जनरल इहोर रोमानेन्कोले अलजजिरासित भने, “यो आक्रमणले अनिच्छापूर्वक पश्चिमलाई मद्दत गरेको छ, किनभने यसले रुसको परमाणु क्षमतालाई निसाना बनायो ।”
उनले अगाडि भने, “यसले युक्रेनमा मिसाइल प्रक्षेपण गर्न रुसको क्षमता घटाउँछ । तर, एक हजार २०० किलोमिटर लामो अर्धचन्द्राकार अग्रिम मोर्चामा जमिनमा चलिरहेको युद्धलाई प्रभाव पार्दैन ।”
रोमानेन्कोले ‘द स्पाइडरवेब’को सीमा र सिर्जनशीलतालाई सन् २०२३ मा युक्रेनले रुसी ‘ब्याक सी’ समूहमा गरेको आक्रमणसँग तुलना गरे । त्यो मुख्यतः कब्जा गरिएको क्राइमियामा केन्द्रित थियो ।
युक्रेनको नौसेनामा केही पुराना साना युद्धपोत मात्र थिए । तर, क्याइभले मिसाइल, वायु र समुद्री ड्रोन प्रयोग गरी रुसी युद्धपोत र पनडुब्बीमाथि आक्रमण गरेर नौसैनिक युद्धको नयाँ परिभाषा नै दिए ।
रुसले क्षतिग्रस्त भएको ‘ब्याक सी’ समूहलाई हतारिँदै पूर्वतर्फ नोभोरोसिस्क बन्दरगाहमा सार्यो । र, अब यसलाई अन्न र स्टील लादिएका युक्रेनी नागरिक जहाज रोक्न प्रयोग गर्दैन ।
‘द स्पाइडरवेब’ले रुसी सैन्य रणनीतिकारलाई अचम्ममा पार्यो, किनभने उनीहरूले मिसाइल वा भारी, लामो दूरीका ड्रोनहरूबाट हुने आक्रमण रोक्न वायु रक्षा प्रणालीहरू डिजाइन गरेका थिए ।
यसको सट्टामा एसबीयूले ११७ खेलौनाजस्ता फर्स्ट–पर्सन–भ्यु एफपीभी ड्रोनहरू प्रयोग गर्यो । यो प्रत्येकको मूल्य केही सय डलर मात्र थियो । यी ड्रोनहरू ट्रकमा काठका बक्समा लुकाइएका थिए ।
एसबीयूले भने यी ड्रोनहरू विमानस्थलको नजिकै लिएर पुग्यो । र, उडेर सात अर्ब डलरको क्षति पुर्यायो । “ड्राइभर आतंकित भएर दौडिरहेको छ,” रुको मुरमान्स्कको ओलेनगोस्र्क विमानस्थलबाट उठेको घना कालो धुवाँको भिडियो बनाएका एक रुसीले भने ।
एसबीयूले जारी गरेका अरू भिडियोमा ड्रोनहरूले विमानलाई आक्रमण गर्दा निस्केको भयानक विस्फोट र आकाश छुने कालो धुवाँ देखिन्छ ।
विमानस्थलको सुरक्षा गर्ने रुसी वायु सुरक्षा प्रणाली साना एफपीभी ड्रोनहरू पत्ता लगाउन र नष्ट गर्न डिजाइन गरिएका थिएनन् । ड्रोनलाई काम नगर्ने बनाउन सक्ने रेडियो जामिङ उपकरणले पनि चालु वा ठिकसँग काम गरिरहेको थिएन ।
एसबीयूले दिएको विवरणानुसार, ‘द स्पाइडरवेब’को कमान्ड सेन्टर रुसभित्र संघीय सुरक्षा सेवाको कार्यालयनजिकै अवस्थित थियो । “यो रुस र पुटिनको गालामा प्रहार हो,” रोमानेन्कोले भने ।
तर, युक्रेनले रुसी परमाणु ट्रायडको मुख्य बेसलाई विशेष रूपमा निसाना बनाएन ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १८ महिनाको योजना र कार्यान्वयनपछि यो अभियानले रुसी रणनीतिक बमवर्षक क्ष्मतामा एकतिहाइ क्षति पुर्याएको बताए ।
“यो हाम्रो अहिलेसम्मको सबैभन्दा लामो दूरीको अभियान हो । युक्रेनको कार्य इतिहासका पुस्तकहरूमा अवश्य उल्लेख हुनेछ,” उनले आइतबार राति टेलिग्राममा लेखे, “हामी रुसले यो युद्ध समाप्त गर्न आवश्यकता महसुस गरोस् भन्ने सबै गर्दै छौँ ।”
क्लास रिपोर्ट सैन्य ब्लगरले सोमबार एसबीयूले एआई एल्गोरिथ्म प्रयोग गरी युक्रेनको केन्द्रमा रहेको एउटा विमान संग्रहालयमा प्रदर्शित सोभियतकालीन विमान पहिचान गर्न ड्रोनलाई प्रशिक्षित गरेको बताए ।
‘वार्ताको प्रक्रियाको मूल तर्क परिवर्तन हुँदैन’
यो आक्रमण युक्रेनी र रुसी कूटनीतिज्ञ इस्तानबुलमा लामो समयदेखि ठप्प शान्तिवार्ता पुनः सुरु गर्न एकत्रित हुनुभन्दा एक दिनअघि गरिएको थियो । तर, यसले वार्ताको तर्कलाई प्रभाव नपार्ने एक युक्रेनी राजनीतिक विश्लेषकले बताए ।
“भावनात्मक, मनोवैज्ञानिक र राजनीतिक रूपमा यो अभियानले युक्रेनी वार्ताकारहरूको स्थिति बलियो बनाउँछ,” पेन्टा थिंक ट्यांकका प्रमुख भोलोदिमिर फेसेन्कोले भने, “तर, वार्ताको प्रक्रियाको मूल तर्क परिवर्तन हुने छैन ।”
फेसेन्कोले अगाडि भने, “दुवै पक्षले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्यस्थका रूपमा लिनेछन् र जो पहिलो वार्ता छोड्छ, उसले आफ्नो वार्ता स्थिति अमेरिकासँग गुमाउँछ ।”
उनले थपे, “रुसले युक्रेनलाई समाप्त गर्न चाहन्छ र हामी देखाउँदै छौँ कि हामी प्रतिरोध गर्नेछौँ । हामी हार मान्ने छैनौँ, आत्मसमर्पण गर्ने छैनौँ ।”
सोमबारसम्म उपग्रहमार्फत प्राप्त तस्बिर प्रयोग गरेर विश्लेषकले आठ टु–९५, चार टु–२२ एम र एक एएन–१२ गरी १३ विमान नष्ट वा क्षतिग्रस्त भएको पुष्टि गरेका छन् ।
“धेरै उल्लेखनीय सफलता, एक उत्कृष्ट रूपमा कार्यान्वित अभियान,” वासिङगटन डीसीमा अवस्थित सैन्य विश्लेषक क्रिस बिगर्सले साइबेरियाको दक्षिणपूर्वमा रहेको इर्कुत्स्क क्षेत्रको बेलाया विमानस्थलमा आठ विमान नष्ट भएको देखाउने नक्सासहित एक्समा पोस्ट गर्दै भने ।
युक्रेनी विश्लेषक समूह ओको होराका अनुसार, मुरमान्स्क बेसमा पाँच थप विमान नष्ट भएको छ ।
एसबीयूले पोस्ट गरेको तस्बिरअनुसार, ‘द स्पाइडरवेब’ले तीन थप विमानस्थललाई निसाना बनाएको थियो । त्यसमा दुईवटा पश्चिमी क्षेत्रमा र एउटा रुसको प्रशान्त तटनजिकै थियो ।
तर, हालसम्म यी विमानस्थल वा तिनमा रहेका विमानमा कुनै क्षति भएको आधिकारिक खबर छैन । रुसले ‘द स्पाइडरवेब’को प्रतिकारमा नागरिकस्थलमा ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमण गर्न सक्छ ।
“मलाई उनीहरूले फेरि ‘ओरेशनिक’ प्रयोग गर्नेछन् भन्ने डर छ,” फेसेन्कोले भने, “जसले रुसको सबैभन्दा उन्नत ब्यालिस्टिक मिसाइललाई जनाउँछ ।” त्यसले प्रतिघण्टा १२ हजार ३०० किलोमिटको गति हासिल गर्न सक्छ (ध्वनिको १० गुना बढी) । र, त्यो नोभेम्बरमा पूर्वी युक्रेनमा एक कारखानामा प्रहार गर्न प्रयोग गरिएको थियो ।”