site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा नाराबाजीबीच बजेटमाथि छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आइतबार (असार १) पनि प्रतिनिधिसभाको वेलमा नाराबाजी गरिरहेका छन् । भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद आफ्नो आसनमा उभिएर विरोध गरिरहेका छन् ।

तर, सभामुख देवराज घिमिरले सभाको कार्य अघि बढाएका छन् । आकस्मिक समयपछि सभामुखले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आउँदो आर्थिक वर्षको बजेटमाथि छलफल प्रारम्भका निम्ति प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनी बोलिरहँदा नेकपा (एकीकृत समाजवादी)का उपनेता राजेन्द्र पाण्डेले समय मागे । सभामुखले मन्त्रीलाई रोकेर पाण्डेलाई समय दिए ।

पाण्डेले नाराबाजीका कारण अर्थमन्त्रीले बोलेको नसुनिएको भन्दै बैठक चलाउने तरिका ठिक नभएको बताए । उनले बैठक स्थगन गरेर समस्या समाधानमा ध्यान दिन आग्रह गरे ।

“यो नाराबाजीको अवस्थामा अर्थमन्त्रीज्यूले भनिरहनुभएको कुरा हामीले सुनिरहेको छैनौँ । यो सभा चलाउने अहिलेको तरिका भएन । यो स्थगित गरेर एउटा सहमति गरेर मात्रै एउटा टुंगो गरी अघि बढाइयोस्,” उनले भने ।

त्यसपछि सभामुखले ‘धन्यवाद’ भने र मन्त्रीलाई बोल्न आग्रह गरे । उनको प्रस्तावमाथि छलफल जारी छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्