
काठमाडौं । इरान र इजरायलबीचको प्रत्यक्ष सैन्य तनाव तेस्रो दिनसम्म आइपुग्दा इजरायलमा कम्तिमा १० जना र इरानमा ७८ जनाको मृत्यु भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् ।
यो आक्रमण र प्रत्याक्रमणको श्रृंखलामा दुर्वतर्फ सयौं घाइते भएका छन् भने भौतिक र आर्थिक क्षति अतुलनीय छ ।
इरानले शनिबार साँझदेखि रातभर गरेको जवाफी हमलामा इजरायलमा मृत्यु भएका मानिसहरुको संख्या १० पुगेको छ । सो आक्रमणपछि आपतकालीन् कर्मचारीहरूले खोज तथा उद्धार अभियान जारी राखेको सीएनएनले जनाएको छ ।
इजरायली खोजी र उद्धार संस्था जाकाका अनुसार, मध्य तटीय सहर बात याममा ६ जनाको मृत्यु भएको छ र एक भवनमा प्रहार गरिएको थियो। अर्को चारजनाको मृत्यु उत्तरी प्यालेस्टिनीय–इजरायली सहर ताम्रामा भएको छ, जहाँ भवनहरूमा पनि प्रहार गरिएको थियो ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस र इजरायली अधिकारीहरूको अनुसार, इरानविरुद्ध इजरायलको सैन्य अभियान केही दिन नभई हप्तौंसम्म चल्ने अपेक्षा छ । र, यो अमेरिकाको अप्रत्यक्ष स्वीकृतिका साथ अगाडि बढिरहेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सम्बोधन मार्फत इजरायलले इरानका सर्वोच्च नेता अयातुल्लाह अल खमिनीको शासनको हरेक स्थान र लक्ष्यमा प्रहार गर्ने चेतावनी दिएका थिए ।
तर इजरायलले शत्रुता जारी राखेमा आफ्नो हमला बढाउने धम्की इरानले दिएको छ ।
यसैबीच इजरायली वायु सेनाले तेहरानमा धेरै लक्ष्यहरूमा व्यापक गुप्तचरमा–आधारित आक्रमणहरू गरेको बताएको छ । यसमा इरानको रक्षा मन्त्रालयको मुख्यालय पनि समावेश भएको बताइएको छ । इरानको तस्निम समाचार एजेन्सीले उक्त आक्रमणका कारण मन्त्रालयको एक प्रशासनिक भवनलाई सानो क्षति पुगेको छ ।
इरानले इजरायली आक्रमणका कारण विश्वको सबैभन्दा ठूलो दक्षिण पार्स प्राकृतिक ग्यास फिल्ड र शाहरान तेल डिपोलाई निशाना बनाएको थियो । तेहरान प्राप्त गरेको भिडियोहरूमा ठूलो आगो लागेको र धुवाँ उठिरहेको देखिन्छ ।
इजरायलको च्यानल १३ को रिपोर्टअनुसार इजरायलको हाइफा र नजिकैको ताम्रामा क्षेत्रमा इरानबाट मिसाइल प्रहार भएको छ । हाइफामा गरिएको हमला अपेक्षित नै थियो किनभने यो तटीय शहरमा इजरायलको रणनीतिक ग्याँस पूर्वाधारहरू रहेका छन् ।
विश्लेषकहरूले यसलाई इरानले वाचा गरेको प्रतिशोधको सुरुवात थियो भनेका छन्, जुन इरानको बुशेहर र अबादान नजिकैको प्रमुख उर्जा केन्द्रहरूमा इजरायली बमबारीको प्रतिक्रिया स्वरूप गरिएको हो ।