site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायल र इरानमा रहेका ५५ सय नेपालीको अवस्था के छ ?

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको बताएको छ । 

“हामीले प्राप्त गरेका तथ्याङ्कअनुसार इजरायलमा पाँच हजार पाँचसय जना र इरानमा १२ देखि १५ जना नेपाली रहेका छन्,” परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले बाह्रखरीसँग भने, “सबैजना सुरक्षित रहेको खबर हामीले प्राप्त गरेका छौँ ।” 

बिहीबार राति इजरायलले इरानमा हवाई आक्रमण गरेपछि दुई देशबीच अहिले युद्ध चलिरहेको छ । दुवै आक्रमण र प्रत्याक्रमणमा उत्रिएका छन् ।  दुवै देशमा ठूलो जनधनको क्षति भइरहेको छ । आक्रमण र प्रत्याक्रमण बढ्दा यसले ठूलो युद्धको रुप लिने खतरा बढेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

युद्धरत दुई राष्ट्रमध्ये इरानमा सानो संख्यामा नेपाली रहेका छन् । इजरायलमा कार्यरत र अध्ययनरत नेपालीको संख्या भने निकै ठूलो छ ।  इजरालमा विशेष कृषि अध्ययनको लागि नेपालीहरु जाने गर्छन् । जीटुजीमार्फत् केयर गिभरको रुपमा इजरायलमा वर्षेनी ठूलो संख्यामा जाने गर्छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मात्र श्रम स्वीकृति लिएर एकहजार ४५ जना नेपाली इजरायल गएका छन् । 

२०८१ साउनमा ३९, भदौमा ३२, असोजमा ३९, कात्तिकमा ११२, मंसिरमा ९१, पुसमा ४७, माघमा ४६, फागुनमा २४०, चैतमा २५३ र २०८२ वैशाखमा १४६ जना नेपाली केयर गिभरको रुपमा इजरायल पुगेका छन् । 

विभागका अनुसार २०७८ साउन १ गतदेखि २०८२ वैशाख मसान्तसम्मको अवधिमा ३ हजार ७३२ जना नेपाली केयर गिभरको रुपमा इजरायल गएको विभागको तथ्याङ्कले देखाउँछ । 

आर्थिक वषै २०७८/७९ मा ५९८ जना, २०७९/८० मा १ हजार ८४ जना, २०८०/८१ मा एक हजार पाँचजना र २०८१/८२ को पहिलो १० महिनामा एक हजार ४५ जना नेपाली केयर गिभरको रुपमा काम गर्न इजरायल गएका थिए । 

“इजरायलमा रहेका नेपालीसँग तेल अविवस्थित नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको छ । त्यहाँ रहेका नेपालीलाई इजरायल सरकारले जारी गरेको एड्भाइजरी पालना गर्न र आवश्यक सतर्कता अपनाउन हामीले भनेका छौं,” परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले भने । 

हालसम्म आफूहरुलाई अप्ठेरो परेको भनि कसैले पनि इजरायलस्थित नेपाली दूतावासमा सम्पक गरेका छैनन् । प्रवक्ता ढकालका अनुसार कुनै अप्ठेरोमा परेमा त्यहाँ रहेको नेपाली दूतावासमा सम्पर्क गर्न भनिएको छ । 

“इजरायल र इरानबीच बढिरहेको तनावलाई हामीले नियालीरहेका छौं । परिस्थितिअनुसार त्यहाँ रहेका नेपालीका सम्बन्धमा उपयुक्त कदम चालिनेछ,” प्रवक्ता ढकालले भने । 

  

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्