काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार भएको अराजकतावादी आन्दोलनमा पुर्व राजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन् ।
शनिबार बीपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले शुक्रबारको घटनाका बारे पूर्वराजाको धारणा माग गरेका हुन् ।
"हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरुले जे हिंसात्मक र दु:खद घटना घटाए त्यसप्रति मेरो खेद छ, घटनाको म भत्र्सना गर्दछु, घटना पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन? हो भने उहाँले जिम्मेवारी लिनु पर्छ, होइन भने त्यसको जवाफ दिनु पर्छ," सिटौलाले भने।
सिटौलाले पूर्वराजालाई सरकारले दिएको सम्मान र सुरक्षाको उनले ख्याल गर्नु पर्ने समेत बताए।
उनले अघि भने, "पूर्व राजा ज्ञानेन्द्र पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुराहरु उठान भएका छन्, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ, उहाँको निवासमा प्रदर्शनको संचालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन्," सिटौलाले अघि थपे।
उनले पुर्व राजा ज्ञानेन्द्रलाई राजाहुँदा जस्तै व्यवहार नदेखाउन आग्रहसमेत गरे। "राजा हुँदा पनि जनता माथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक ?," सिटौलाको प्रश्न थियो।