site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

पञ्चायतकालमा भन्ने गरिन्थ्यो - ‘संविधानलाई कानुनले, कानुनलाई नियमले र नियमलाई परिपत्रले काट्छ ।’ राजाको प्रत्यक्ष अधिनायकत्वमा चलेको पञ्चायती व्यवस्था जनआन्दोलनबाट ढलेको चार दशक पुग्ने बेला हुँदा पनि संविधानको भावनामात्र होइन अक्षर नै मिच्न तम्सिने मानसिकता भने शासकहरूमा उत्तिकै बलियो छ । साना दलहरूको सङ्ख्या नियन्त्रण गर्न प्रस्तावित कानुनी प्रयासमा यही मानसिकता देखिन्छ । 

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधनका लागि गरेको प्रस्ताव पारित भएमा मान्यताप्राप्त दलहरूको सङ्ख्या घट्नेछ । आयोगले राष्ट्रिय दलका रूपमा मान्यता पाउन कम्तीमा तीनवटा प्रदेशमा एकएक स्थान जित्नुपर्ने, प्रतिनिधि सभाको निर्वाचनमा सदर समानुपातिक मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने र प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कम्तीमा ७० प्रतिशत सिटमा उम्मेदवारी दिनुपर्ने प्रस्ताव गरेको छ । 

यसैगरी  दलहरूलाई राज्यको कोषबाट अनुदान दिनेदेखि एक व्यक्ति एक पदमा रहनुपर्नेजस्ता विभिन्न प्रस्तावहरू पनि ऐनमा थप गर्ने प्रस्ताव गरिएको छ । झट्ट सुन्दा समुचितै लाग्ने यस्ता प्रस्तावहरूको मूल उद्देश्य भने राजनीतिक दलहरूलाई राज्यको नियन्त्रणमा राख्न थप उपकरण तयार गर्नु रहेको देखिन्छ । यसबाट ‘दलहरूलाई प्रतिबन्ध लगाउन बन्देज’ गर्ने संविधानको भावना र अक्षर दुवैको अवहेलना भएको छ ।  

केही यता ठूला दलहरू विशेषगरी नेपाली कांग्रेस र नेकपा ९एमाले०का प्रभावशाली नेताहरूले ‘दुई दलीय’ व्यवस्थाको पैरवी गर्दैआएका छन् । साना दलहरूका कारण सरकार बढी अस्थिर भएको भन्दै उनीहरू अहिले संसदीय अभ्यासविपरीत सरकार पनि चलाइरहेका छन् । निर्वाचन आयोगबाट प्रस्तावित संशोधनहरूमा पनि ठूला दलका नेताको त्यही मानसिकता प्रतिविम्बित भएको छ । 

नेपालको संविधान, २०७२ले भने समान राजनीतिक विचार, दर्शन र कार्यक्रमप्रति प्रतिबद्ध नागरिकहरूले दलको संगठन र प्रचारप्रसार गर्न पाउने प्रत्याभूति गरेको छ । यसैगरी संविधानले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन पनि बन्देज गरेको छ । संविधानले राष्ट्रिय दलका नाममा विशेष श्रेणीको राजनीतिक दलको परिकल्पना पनि गरेको देखिँदैन । यसैले कानुनद्वारा दलमाथि नियन्त्रण गर्ने प्रयास संविधानविपरीत हुन्छ ।

कम्तीमा मूलतः तीनवटा प्रदेशमा एकरएक स्थान नजिते राष्ट्रिय दल नमानिने र सम्भवतः समानुपातिक स्थान पनि नपाइने व्यवस्थाले संघीयताको मर्ममा पनि प्रहार गर्छ । अहिलेजस्तो संघमा राजनीतिक समीकरण बदलिनेबित्तिकै प्रदेशहरूमा सरकार फेरिने अभ्यासले प्रदेशको स्वायत्ततालाई कमजोर बनाउँछ । संघीयताको अभ्यास सफल हुन क्षेत्रीय दलहरूको प्रभावकारी उपस्थिति आवश्यक हुन्छ । भारतको उदाहरणले पनि यही पुष्टि गरेको छ ।

चुनावमा जनताले चाहे भने साना दलहरूलाई मात्र होइन ठूला दललाई पनि धूलिसात् बनाउन सक्छन् । तर, रकमी शैलीबाट दलहरूलाई निषेध गर्न खोज्दा धेरैजसो विफलता नै हात परेको देखिन्छ । जनताले मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजान चाहे भने बिस्तारै त्यहीअनुरूप जनमत प्रकट हुँदै जानेछ । अहिले संविधानमाथि नै आक्रमण भइरहेको बेला साना दलहरूलाई तर्साएर विरोधको अर्को मोर्चा खोल्नु प्रत्युत्पादक हुनेछ । 

आउने निर्वाचनमा दलहरू साना दलहरूको निम्ति कठिन हुनेगरी सीमा र सर्तहरू राख्ने घोषणापत्र लिएर जनतामा जाने र अनुमोदन भएमा कानुन र संविधानमा तदनुरूप संशोधन गर्नु लोकतान्त्रिक एवं बुद्धिमानी हुनेछ । यसरी संविधानको भावनामा प्रहार गर्ने दुस्साहस गर्नु आत्मघाती मूर्खता हो ।
 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कर्मचारीलाई लोभमा नपार !
कर्मचारीलाई लोभमा नपार !
Hamro patroHamro patro