
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आउँदो आर्थिक वर्षको बजेटको विरोध गरेका छन् । आइतबार (असार १) प्रतिनिधिसभा बैठक चलिरहँदा उनी दर्शकदीर्घामा पुगेर विरोध गरेका हुन् ।
गोरखाको बजेट काटिएको भन्दै उनले आफ्नो आपत्ति रहेको बताए । “सम्माननीय केपी शर्मा ओली, नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ । बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ । नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ !,” उनले वक्तव्यमार्फत भनेका छन् ।
बजगाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशको भूगोल र प्रजातन्त्रको आधारभूत तत्त्व भनेको नागरिकका मौलिक अधिकार र स्रोतसाधनको समान वितरण हो भन्ने नबुझेको आरोप लगाएका छन् ।
“सायद तपाईंले गोरखाको विनासडकको पुल निर्माण गर्ने तत्कालीन पूर्वाधारमन्त्रीको पक्षपोषण गर्नुभयो,” उनले भनेका छन्, “बजेटको विरोध दर्शकदीर्घाबाटै गर्नुपर्ने परिस्थिति हुनु दुःखद विषय हो ।”
मन्त्री दाहालले प्रजातान्त्रिक मूल्यको मर्म नबुझेको र देशको भूगोलप्रति आवश्यक ज्ञान पनि हासिल नगरेको उनको आरोप छ । “त्यसैले उहाँ (देवेन्द्र दाहाल) गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिन्छन्,” उनले भनेका छन्, “गोरखाली जनताको तर्फबाट म उहाँको निर्णयको घोर भर्त्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनुभएको छ, जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ ।”