त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा देशका प्रमुख राजनीतिक दलका समर्थक विद्यार्थीहरूले नै अधिकांश स्थान जितेका छन् । केही क्याम्पसमा निर्वाचन हुन बाँकी भए पनि परिणामको मूल प्रवृत्तिमा खासै फरक पर्ने देखिँदैन ।
स्ववियु निर्वाचनमा नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघले सबैभन्दा धेरै स्थानमा विजय हासिल गरेको छ भने नेकपा ९एमाले० को अनेरास्ववियु दोस्रो तथा नेकपा ९माओवादी केन्द्र०को अनेरास्वियु ९क्रान्तिकारी० तेस्रो भएका छन् । प्रतिनिधि सभामा पनि दलहरूको उपस्थिति यही क्रममा छ ।
अर्थात्, अहिले २०७९ को निर्वाचनपछि जनमतको झुकावमा खासै अन्तर परेको छैन । यद्यपि, यसबीच पुराना दलहरूप्रति जनसमर्थन खस्केको र व्यवस्थाकै विरुद्धमा समेत जनसमर्थन बढेको भान पारिएको छ । त्यसो त यसअघि २०८१ मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचनमा पनि मतको झुकावमा खासै परिवर्तन देखिएको थिएन ।
यस निर्वाचनमा सरकारको नेतृत्व गर्ने एमाले समर्थक विद्यार्थी संगठनले पहिलेभन्दा केही स्थान गुमाएको र माओवादी केन्द्र समर्थक क्रान्तिकारीले बढाएको देखिएको छ । अर्थात्, निर्वाचनहरूमा देखिने ‘सत्ता विरोधी प्रवृत्ति’ विद्यार्थीहरूमा पनि देखियो । यद्यपि, विसं २०७९ को निर्वाचनपछि अधिकांश समय सत्तामा रहेको माओवादी केन्द्र चुनावका बेला सरकारमा नभएकाले पनि यसको पनि लाभ पाएको हुनुपर्छ ।
यसपटक राजधानीका दुई ठूला क्याम्पसको निर्वाचनबाट राजनीतिक दलका नेताहरूलाई विद्यार्थीहरू पाठ पनि सिकाएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उमेदवार अध्यक्षमा विजयी भएका छन् भने पद्म कन्या क्याम्पसमा नेविसंघबाट विद्रोह गरेर उठेको स्वतन्त्र समूह विजयी भएको छ । यो उमेदवारी चयन र स्ववियु सञ्चालनमा नेताहरूको हस्तक्षेपलाई विद्यार्थीहरूले अस्वीकार गरेको सङ्केत हो ।
पूर्वराजा समर्थकहरूको एउटा जुलुस देखेर तर्सनेहरूलाई देशभरका विद्यार्थीहरूको अभिमतले पक्कै पनि आश्वस्त तुल्याएको हुनुपर्छ । तर, यो समर्थन दलका नेताहरूको पक्षमा नभएर लोकतान्त्रिक गणतन्त्रका पक्षमा प्रकट भएको हो । यसैबाट यो नेताहरूले सुध्रिने प्रेरणा लिन सक्नुपर्छ ।
युवा विद्यार्थीहरू परेमा विद्रोह गर्न हिचकिचाउँदैनन् भन्ने सङ्केत पनि यस निर्वाचनले गरेको छ । नेताहरूले यस अवस्थामा बुद्धिमत्ता देखाएर नेतृत्व हस्तान्तरणको तयारी गर्नु उपयुक्त हुने देखिन्छ । लोकतान्त्रिक गणतन्त्र सुरक्षित राख्न भविष्यका नेताहरू सक्षम र प्रतिबद्ध जो देखिएका छन् ।
नवनिर्वाचित स्ववियु नेतृत्वले यसपटक दोहोरो चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । पहिलो, स्ववियुलाई आफूसम्बद्ध संगठनको स्वार्थ पूरा गर्ने माध्यम होइन क्याम्पसका सबै विद्यार्थीको साझा संस्था बनाउन अर्थात् दलगत राजनीतिभन्दा माथि उठाउन सक्नुपर्छ । दोस्रो, लोकतान्त्रिक गणतन्त्रमा कतैबाट प्रहार भए त्यसको वैचारिक प्रतिवाद गर्न नैतिक र सैद्धान्तिकरूपमा सक्षम हुनुपर्छ ।