site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसप्रति जनतामा भरोसा बढेको छ, बहुमत ल्याउन प्रयत्न गर्नुपर्छ : देउवा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीप्रति जनतामा आशा बढेको बताएका छन् ।
 
पेसागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनले “संविधान संशोधनः आवश्यकता र चुनौती”  विषयमा आयोजना गरेको कार्यक्रममा उनले जनताको दुःखमा कांग्रेसले साथ दिन्छ भन्ने जनतामा रहेको बताए ।

“देशभरि घुम्दा नेपाली कांग्रेसप्रति जनताको आशा, भरोसा बढेको छ,” देउवाले भने,“कांग्रेसले केही गर्छ, जनताको दुःखमा साथ दिन्छ भन्ने लागेको छ । यस काममा सबै लागेर अघि बढौँ ।”

त्यस्तै, उनले संविधानको व्यवस्थाअनुसार बहुमत ल्याउन कुनै पनि पार्टीलाई गाह्रो भएको बताए । “संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ,” देउवाले भने । 

देउवाले पार्टीले चुनावमा पहिलो भए पनि धेरै मत पाउन नसकेको बताए । “हाम्रो पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर, मत प्राप्त गर्न सकेको छैन,” उनले भने, “यसमा पार्टीको दोषभन्दा पनि संविधान यस्तो किसिमको छ कि त्यसमा धेरै गाह्रो छ । यो गाह्रोलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्छ ।”

साथै उनले महिलालाई घरसहित राज्यको जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले गाह्रो रहेको सुनाए । “घरको काम पनि गर्नुपर्ने अरू काम पनि गर्नुपर्ने, राज्यले दिएको काम पनि गर्नुपर्ने अवस्था छ । महिलालाई ज्यादा मिहिनेत गनुपर्ने, कामको बोझ छ,” देउवाले भने ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्