
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका स्वास्थ्य क्षेत्रका ऐन तथा नीति निर्माणको काम अघि बढाएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले स्वास्थ्य सेवाका कर्मचारीको सेवासुविधा सम्बन्धमा बनेको ०५३ सालको पुरानो ऐनको स्थानमा नयाँ स्वास्थ्य सेवा ऐन ल्याउन लागेको बताइएको छ ।
ऐनको प्रारम्भिक मस्यौदा निर्माणको काम भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ऐनले संघीयतापछि स्वास्थ्य सेवाका कर्मचारीहरूको सेवा सुविधाका सम्बन्धमा प्रस्टता ल्याउने अपेक्षा गरिएको छ ।
यसैगरी, २०३५ साल पुरानो औषधि ऐनलाई प्रतिस्थापन गर्दै औषधि तथा स्वास्थ्य सामग्री ऐन ल्याउने तयारी अघि बढेको जनाइएको छ । ऐनमा समावेश गर्ने गरी मन्त्रालयले मस्यौदालाई अन्तिम रूप दिएको छ भने नियमावली तयार भइरहेको छ । लगत्तै कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने तयारी मन्त्रालयको छ ।
मन्त्री पौडेलले रामराजा प्रसाद सिंह अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रूपान्तरण गर्ने गरी प्रतिष्ठान ऐन ल्याउन लागेका छन् । कानुन मन्त्रालयको राय प्राप्त भएपछि ऐनलाई संसद् लैजाने तयारी छ ।
यस्तै, एकीकृत विकास समिति ऐन, एकीकृत प्रतिष्ठान ऐनको तयारी अघि बढेको, आमाको दूध प्रतिस्थापन गर्ने वस्तु ऐन २०४९ लाई संशोधनको तयारी रहेको बताइएको छ ।
प्रत्यायन ऐन, सुर्तीजन्य पदार्थ ऐन ०६८ संसोधन गर्न बनेको विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन ०७५ लाई संशोधन गर्न बनेको विधेयकको काम समेत अघि बढेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन ०६६ लाई संशोधन गर्न बनेको विधेयक, घट्दो जनसंख्या र चुनौतीको अवस्था सम्बोधन गर्न नयाँ नीति ल्याउने मन्त्रालयको तयारी छ ।
संघीयता आएको लामो समयदेखि संशोधन हुन नसकेका तथा नयाँ परिस्थितिमा आवश्यक ऐन कानुन अघि बढाइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।