काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
नेपाली विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको शैक्षिक शुल्क, बिमा शुल्कलगायत विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने बैंकले योजना ल्याएको हो । यो योजना अगस्ट ३१ सम्म लागु हुनेछ ।
अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरूले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पूरा गरेपछि बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।
ग्लोबल आइएमई बैंकले देशभर ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।