
काठमाडौं । पोखराबाट फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा 'भव्य स्वागत' गर्ने तयारी गरेपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाएका छन् । पूर्वराजाका समर्थकको प्रदर्शनलाई संयमित र मर्यादित बनाउन चारवटै सुरक्षा निकायले उच्च सतर्कता अपनाएका हुन् ।
आइतबार बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, निर्मल निवाससहितका क्षेत्रमा ठूलो संख्यामा सुरक्षकर्मी परिचालन गरिएको छ ।
प्रदर्शनलाई अनियन्त्रित हुन नदिन रणनीति बनाएर नै प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले जानकारी दिए ।
सुरक्षा स्रोतका अनुसार, पूर्वराजा शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदै छन् । पूर्वराजाको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले विमानस्थलको गेटअगाडि भेला हुन आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् ।
पूर्वराजाकै स्वागतको सन्दर्भमा सुरक्षा अवस्थाबारे जानकारी लिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसिसकेको छ ।
प्रहरीबाहेक सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाको इन्टेलिजेन्स टोलीसमेत खटिएको छ ।
सुरक्षा निकायले पूर्वराजाको र्यालीमा संगठित राप्रपाभन्दा पनि शिव सेना नेपाल, शाही युवा शक्ति नेपाल र सन्तोष राजावादी समूहको प्रदर्शन भडकिलो हुन सक्ने पूर्वानुमान गरेको छ ।
प्रहरीले बिहानदेखि नै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शेखर खनालले नियमिति ड्युटीभन्दा एक हजारभन्दा बढी प्रहरी थप गरिएको बताए ।