site stats
बाह्रखरी :: Baahrakhari
देश
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता

सोलुखुम्बु । चालु आर्थिक वर्षमा सोलुखुम्बुका ७० भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन् । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, ती उजुरीमध्ये केही संघ र प्रदेश सरकारका निकायविरुद्ध भए पनि अधिकांश स्थानीय तहसँग सम्बन्धित छन् । 

खासगरी विकास निर्माण र योजना कार्यान्वयनमा हुने अनियमितता, पारदर्शिताको अभाव लगायतका विषयमा उजुरी परेका छन् । यहाँका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी नेचासल्यान गाउँपालिकाको छ । नेचासल्यानको मात्रै १२ वटा उजुरी दर्ता भएका छन् । त्यसपछि माप्यदुधकोसी र लिखुपिकेको पाँच–पाँच उजुरी छन् भने थुलुङ दुधकोसी गाउँपालिकाको चार उजुरी छन् ।

Argakhachi Cement Island Ad

खुम्बु पासाङल्हामु, महाकुलुङ गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाविरुद्ध दुई–दुई उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रवक्ता तुलसीराम पौडेलका अनुसार, प्राप्त उजुरीमध्ये हालसम्म ७९ प्रतिशतको फर्छ्यौट भइसकेको छ । बर्दिबासमा मात्र ३२ वटा उजुरी दर्ता भएको र १९ उजुरीको छिनोफानो भइसकेको छ । बाँकी १३ उजुरीको अनुसन्धान पूरा हुन बाँकी छ । 

बर्दिबासस्थित आयोग कार्यालयको कोसी प्रदेशअन्तर्गत सोलुखुम्बु, ओखलढुंगा र खोटाङ, मधेस प्रदेशका सिराहा, धनुषा, महोत्तरी र सर्लाही तथा वाग्मती प्रदेशका सिन्धुली र रामेछाप गरी जम्मा नौ जिल्ला कार्यक्षेत्र रहेको छ । रासस

 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  २३:४७
प्रतिक्रिया दिनुहोस्