
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यापारसम्बन्धी मुद्दाहरू समाधान गर्न फोनवार्ता गर्ने भएका छन् । उक्त फोनवार्ता दुई शक्तिशाली देशका राष्ट्रपतिहरूबीच महत्वपूर्ण रेयर अर्थ मेटिरियल (खनिजहरू) बारेको विवाद पनि समावेश भएको अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टले आइतबार बताएका छन् ।
ट्रम्पले शुक्रबार चीनले अमेरिकासँगको यसअघिको व्यापार सहमति उल्लंघन गरेको आरोप लगाएका थिए । जसअनुसार दुवै देशले महत्वपूर्ण खनिजहरूको लागि लगाइएको शुल्क र व्यापार प्रतिबन्धहरू पारस्परिक रूपमा हटाउने सहमति गरेका थिए ।
“चीनले अहिले भारत, युरोपजस्ता औद्योगिक आपूर्ति श्रृंखलाहरूका लागि आवश्यक वस्तुहरू रोकेर राखिरहेको छ । त्यो विश्वसनीय साझेदारले गर्ने कुरा होइन,” बेसेन्टले सीबीएस न्युजको कार्यक्रममा भने ।
“राष्ट्रपति ट्रम्प र सीबीच कुराकानी हुँदा यो समाधान हुने कुरामा म विश्वस्त छु । तर, उनीहरूले हामीसँग सहमतिको क्रममा रिलिज गर्ने भनेर प्रतिबद्धता जनाएका केही वस्तुहरू रोकेको तथ्य सायद यो चिनियाँ प्रणालीको गल्ती हो वा जानाजानी गरिएको हो प्रस्ट छैन,” उनले भने, “यो कुरा राष्ट्रपति र पार्टी अध्यक्षबीचको कुराकानीपछि प्रस्ट हुनेछ ।”
राष्ट्रपति सीसँग कुराकानी ट्रम्पको तालिकामा छ भनेर सोध्दा, बेसेन्टले भने, “हामी छिट्टै केही जानकारी पाउनेछौँ ।”
ह्वाइट हाउसका आर्थिक सल्लाहकार केभिन ह्यासेटले भने हालसम्म कुराकानीको लागि कुनै निश्चित मिति तय नभएको बताए । तर, जेनेभा सम्झौताको सन्दर्भमा दुवै नेताबीच छलफल हुने सम्भावना रहेको बताए ।
“हामीले राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीच यस साता व्यापार वार्ताहरूको सन्दर्भमा एक सकारात्मक संवाद हुनेछ भन्ने आशा गरेका छौँ,” ह्यासेटले भने । रोयटर्स