
काठमाडौं । कप्तान स्टिभ स्मिथ र एलेक्स क्यारीको अर्धशतकप्रेरित अस्ट्रेलियाले आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारतविरुद्ध २६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६४ रनको योगफल खडा गरेको हो ।
अस्ट्रेलियाका कप्तान स्मिथले सर्वाधिक ७३ रन बनाए । उनले ९६ बलमा चार चौका र एक छक्का प्रहार गरे । एलेक्स क्यारीले ६१ रन थपे । उनले ५७ बलमा आठ चौका र एक छक्का प्रहार गरे ।
यसबाहेक, ओपनर ट्राभिस हेडले ३९ रन थपे । मार्नुस लाबुसचेन्जले २९, बेन ड्वारसुइसले १९ र जस इंग्लिसले ११ रन जोडे । नाथन एलिसले १० रन बनाए ।
भारतका मोहम्मद सामीले तीन विकेट लिए । रविन्द्र जडेजा र रविन्द्र जडेजाले समान दुई विकेट लिँदा अक्षर पटेल र हार्दीक पन्ड्याको नाममा एक विकेट रह्यो ।
प्रतियोगितामा भारत र अस्ट्रेलिया दुवै टिम अपराजित छन् । समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको भारतले तीनमध्ये तीनै खेलमा जित निकालेको थियो । समूह ‘बी’को उपविजेता बन्दै अन्तिम–४ यात्रा तय गरेको अस्ट्रेलियाले भने तीनमध्ये एक खेलमा मात्र जित निकालेको थियो । समूह चरणमा अस्ट्रेलियाका अरू दुई खेल वर्षाका कारण रद्द भएको थियो ।
सन् २०११ मा सम्पन्न एकदिवसीय विश्वकपको क्वार्टरफाइनलयता यी दुई टिमले आईसीसीका अन्तर्राष्ट्रिय प्रतियोगितामा चारपटक प्रतिस्पर्धा गरेका छन् । र, दुवै टिम समान दुईपटक विजयी भएका छन् ।
भारतले सन् २०१९ र २०२३ को राउन्ड रोबिन खेलमा अस्ट्रेलियाविरुद्ध जित निकालेको थियो । अस्ट्रेलियाले २०१५ को विश्वकप सेमिफाइनल र २०२३ को विश्वकप फाइनलमा भारतलाई निराश बनाएको थियो ।
आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।