site stats
बाह्रखरी :: Baahrakhari
खेल
अर्जेन्टिनाको जितमा आल्भारेज निर्णायक, एन्सेलोट्टीको पहिलो खेलमा रोकियो ब्राजिल
तस्बिर : एपी ।

काठमाडौं । हुलियन आल्भारेजको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा चिलीविरुद्ध १–० को साँघुरो जित निकालेको छ ।

शुक्रबार बिहान चिलीमा भएको खेलमा आल्भारेजले पहिलो हाफमा गोल गरेका थिए । यही गोल अर्जेन्टिनालाई तीन अंक दिलाउन पर्याप्त बन्यो । सुरुआती–११ मा मेसीबिनै मैदानमा उत्रिएको अर्जेन्टिनाले १६औँ मिनेटमा अग्रता बनाएको थियो ।

Argakhachi Cement Island Ad

जितसँगै १५ खेलबाट ३४ अंक जोडेको अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । अर्जेन्टिना आउँदो वर्ष हुने विश्वकपमा दक्षिण अमेरिकाबाट छानिएको हालसम्मको एक मात्र टोली हो । समान १५ खेलबाट १० अंकको चिली तालिकाको पुछारमा छ ।

ब्राजिल रोकियो
शुक्रबार बिहान नै भएको अर्को खेलमा पाँचपटकको विश्वकप विजेता ब्राजिलले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।

यो इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा ब्राजिलले खेलेको पहिलो खेल हो । यसअघिका प्रशिक्षक डोरिभल जुनियर बर्खास्तमा परेपछि ब्राजिलले गत हप्ता एन्सेलोट्टीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

छनोटमा ब्राजिल चौथो स्थानमा छ । ब्राजिलले १५ खेलबाट २२ अंक जोडेको छ । दोस्रो स्थानको इक्वेडरको समान खेलबाट २४ अंक छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्