site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सांसद चौधरीको पहलमा निर्वाचन क्षेत्रमा सहरी विकासबाट ३१ करोड बजेट विनियोजन

नवलपरासी । प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा पश्चिम नवलपरासी–१ मा सहरी विकास मन्त्रालयअन्तर्गत बजेटमार्फत ३१ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको हो ।

बजेटले पश्चिम नवलपरासी–१ को पूर्वाधार विकास, सहरी सौन्दर्यकरण र विपन्न परिवारका लागि आवास निर्माणलगायत महत्त्वपूर्ण परियोजनामा बजेट विनियोजन गरिएको हो । एकीकृत बस्ती विकास (सुस्ता), सडक निर्माण, आपत्‌कालीन आवास भवन र पार्कलगायत पूर्वाधार सुधारका लागि एक करोड ६ लाख रुपैयाँ विनियोजन भएको छ ।

गरिब तथा विपन्न परिवारका लागि आवास सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाका गरिब तथा विपन्न परिवारका लागि आवास पूर्वाधार निर्माणमा तीन करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ ।

Argakhachi Cement Island Ad

सडक पूर्वाधार विकासतर्फ बर्दघाट नगरपालिका वडा नम्बर  ४ मा रहेको विषय खोला दुवैतर्फ सडक स्तरोन्नतिका लागि तीन करोड, पोटाहादेखि पश्चिमतर्फ अन्नपूर्ण सिँचाइ बोरिङ हुँदै चौपत्ता पशु बजार त्रिवेणी जोड्ने सडक निर्माण (बर्दघाट नगरपालिका १४ र १५) का लागि तीन करोड, बर्दघाट टीसीएन चोकदेखि जिमिरेभार हुँदै नारायणचोकसम्म पाँच किलोमिटर सडक विस्तार तथा सौन्दर्यीकरणका लागि तीन करोड रुपैयाँ छुट्ट्याइएको छ ।

बजेटमा सूर्यपुरादेखि भुजहवा जोड्ने बाटो स्तरोन्नति र कालोपत्रे (प्रतापपुर वडा नम्बर ७, सरावल वडा नम्बर ७) का लागि ३ करोड, सरावल गाउँपालिका, बर्दघाट नगरपालिका वडा नम्बर १ को सिमानादेखि सरावल सालवास, पथरहिया, सिमलटाडी र नयाँटोल हुँदै सुनवल वडा नम्बर ११ जोड्ने सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ बजेटमा सुनिश्चित गरिएको छ । 

पुल निर्माणतर्फ प्रतापपुरदेखि बेलाटारी जोड्ने ठूलो सडकमा पुल निर्माणका लागि ३ करोड, फडकी टोल बलिनगर डङेनमा पुल निर्माण (प्रतापपुर ८) का लागि ३ करोड रुपैयाँ छुट्ट्याइएको छ ।

सहरी विकास र सौन्दर्यीकरणतर्फ  बर्दघाटको नारायणचोक, गोपीगञ्ज, सेमरी, बेलाटारी, कुडियासम्मको बजार क्षेत्रमा १३ किलोमिटरको एक सय स्थानमा फ्लड लाइट, सडक पेटीमा वृक्षरोपण र सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ विनियोजना गरिएको छ ।  यसमा बर्दघाट, प्रतापपुर र सुस्ता गाउँपालिका समेटिनेछन् ।

पर्यटन विकासतर्फ बाउन्न खोला सिमसार पर्यापर्यटन विकासका विभिन्न संरचना निर्माण (बर्दघाट १०) का लागि ३ करोड विनियोजन हुनुका साथै बर्दघाट नयाँ सहर जग्गा एकीकरण कार्यको सम्भाव्यता अध्ययन गरी डीपीआर तयार गर्न नौ लाख रुपैयाँ छुट्ट्याइएको छ ।

विकासका लागि राजनीति भन्ने नाराका साथ पश्चिम नवलपरासी १ बाट संघीय सांसद निर्वाचित चौधरीले आफ्नो क्षेत्रको विकासका लागि निरन्तर पहल गर्दै आएका छन् । उनले तीन तहकै सरकारसँग विकासका लागि आवश्यक पहल र समन्वयको काम गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्