
काठमाडौं । ‘भिजिट भिसा’मा विदेश जानेको संख्या स्वाट्टै घटेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा छानबिन सुरु गरेपछि संख्या यसरी घटेको हो ।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीमाथि अनुसन्धान थालेलगत्तै भिजिट भिसामा विदेश जानेको संख्या घटेको हो ।
“जुन दिन अख्तियारले अध्यागमनका कर्मचारीलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको थियो, त्यसभन्दा अघिका १५ दिनको तुलनामा त्यसपछिका १५ दिनमा भिजिट भिसामा विदेश जानेको संख्या साढे ३१ प्रतिशतभन्दा बढीले घटेको देखिन्छ,” अध्यागमन विभाग स्रोतले बाह्रखरीसँग भन्यो ।
मानव तस्करको सेटिङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा ठूलो संख्यामा नेपाली दैनिक भिजिट भिसामा विदेश जाने गरेको सूचना प्राप्त गरेपछि अख्तियारले गोप्य रुपमा यसको अनुसन्धान गरिरहेको थियो ।
अख्तियारले अनुसन्धान गरिरहेको सूचना चुहिएपछि गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईलाई २०८२ जेठ ६ गते गृह मन्त्रालयमा तानिएका थिए ।
गृहमन्त्री लेखकले भट्टराईलाई २०८१ असोज २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा प्रमुख अध्यागमन अधिकृत बनाएका थिए । अध्यागमनबाट गृह मन्त्रालयमा तानेको भोलिपल्ट अर्थात् जेठ ७ गते अख्तियारको टोलीले भट्राईलाई नियन्त्रणमा लिएको थियो ।
त्यही दिन अख्तियारको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको थियो । अध्यागमनका तीनजना कर्मचारीलाई नियन्त्रणमा समेत लिएको थियो । त्यसपछि गृहमन्त्री रमेश लेखकको नाम पनि भिजिट भिसा प्रकरणमा जोडियो ।
भिजिट भिसा विदेश जानेसँग अवैध तरिकाले उठाइएको दैनिक लाखौं रुकम गृहको उच्च तहसम्म पुग्ने सूचना सामाजिक सञ्जाल र केही मिडियाले उल्लेख गरेपछि उक्त प्रकरणमा लेखक पनि तानिएका हुन् । त्यसपछि प्रतिपक्ष दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग्दै निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।
अख्तियारले भने नियन्त्रणमा लिएको भोलिपल्टै गृह मन्त्रालयका सहसचिवलाई छाडिदियो । तर, उनको र अन्य नियन्त्रणमा लिइएका अध्यागमनका कर्मचारीको मोबाइल अख्तियारले अनुसन्धानका लागि ल्याब पठाएको थियो ।
अख्तियारले सहसचिव भट्टराईलाई बोलाउँदै बयान लिइरहेको छ । मानव तस्करले भिजिट भिसामा विदेश जानेसँग रकम असुल्ने र उक्त रकम अध्यागमनका कर्मचारीसम्म उनीहरूले पुर्याउने गरेका छन् । उक्त रकम प्राप्त गरेपछि अध्यागमनका कर्मचारीले भिजिट भिसामा विदेश जानेलाई सहजै छाडिदिने गरेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सहसचिव भट्टराईलाई जुन दिन अख्तियारले नियन्त्रणमा लियो, त्यसभन्दा १५ दिन अघिको तुलनामा त्यसपछिका १५ दिनमा भिजिट भिसामा विदेश जानेको संख्या एक्कासि घटेको देखिन्छ । अख्तियारले सहसचिव भट्टराईलाई २०८२ जेठ ७ गते नियन्त्रणमा लिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार २०८२ वैशाख २३ देखि जेठ ६ गतेसम्मको १५ दिनेका अवधिमा कुल ११ हजार ८६१ जना नेपाली भिजिट भिसामा विदेश गएको देखिन्छ ।
यस्तै, २०८२ जेठ ७ गतेदेखि २१ गतेसम्मको १५ दिनको अवधिमा कुल ८ हजार ११४ जना नेपाली भिजिट भिसामा विदेश गएका छन् । भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको दिनभन्दा अघिको १५ दिनको तुलनामा त्यसपछिको १५ दिनमा भिजिट भिसामा विदेश जानेको संख्या तीन हजार ७४७ ले कमी आएको छ ।
अर्थात् अख्तियारले देखिने गरी अनुसन्धान सुरु गरेपछि भिजिट भिसामा विदेश जानेको संख्या ३१.६० प्रतिशतले घटेको छ ।
यसअघि के भएको थियो ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव तस्करको सेटिङमा भिजिट भिसामार्फत नेपाली युवा–युवती विदेश पठाएका घटना बेलाबखत बाहिरिने गर्छन् । डेढ वर्ष पनि यस्तै एउटा घटना सार्वजनिक भएको थियो ।
२०८० कात्तिक १४ गते शंकास्पद कागजातसहित दुई महिला कौशिला मगर र लक्ष्मी राईलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि मानव तस्करको सेटिङमा भिजिट भिसामार्फत भइरहेको मानव तस्करी र अध्यागमन कार्यालयका कर्मचारीको संलग्नता खुलेको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा अध्यागमन कार्यालयका तत्कालीन अधिकृतहरू नववीर खड्का, सुजन फागो, विमल पौडेल, पिताम्बर रिमाल, ताराबहादुर कुँवर, विकास डंगोल, कुशल बराल, शैलेन्द्र ढकालसहित २२ जनाविरुद्ध प्रहरीले २०८० माघ १८ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यतिबेला प्रहरीसँगको वयानका क्रममा नरवीर खड्काले विमानस्थलमा मानव तस्करको सेटिङ कति डरलाग्दो हुनेगर्छ बताएका थिए ।
उनले बयानका क्रममा प्रहरीसँग भनेका थिए, “भिजिट भिसामा सेटिङ मिलाउने एजेन्ट होलिडेज् एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, लालबहादुर भगत, मनोज लामा, रामेछाप घर हुने पदम लामा, प्रकाश चौधरी समेतसँग २०८० साल असार महिनादेखि मिलेमतो गरी पुरुषको १० देखि १५ हजार, महिलाको ४० देखि ५० हजार सम्म १ पटकमा १० देखि २० जना कहिलेकाहीँ १०० देखि १५० जना सम्मको रकम लिई भिजिट भिसाामा सेटिङ मिलाउने एजेन्टहरूमार्फत लिने गरेको हो ।”
नरवीरको बयान अनुसार, भिसा सहजीकरण गर्न एउटा समिति बनाइएको थियो ।
समितिमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, बिष्णु अर्याल, विकास डंगोल, पिताम्वर रिमाल, सुजन फागो रहेको बयान उनले दिएका थिए ।
“औसतमा प्रत्येक कर्मचारीको भागमा मेरोबाट गएको ४०/५० हजार हुन्छ,” प्रहरीसँगको बयानमा नरविरले भनेका थिए ।
भिजिट भिसामा कति नेपाली विदेश जान्छन् ?
के बयानमा अध्यागमनका अधिकृतहरूले भनेजस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करी हुन्छ ? के ठूलो संख्यामा नेपाली पर्यटक भिसामा विदेश जान्छन् ? जान्छन् भने कहाँ जान्छन् ? कि त्यसै अनुमानका भरमा आरोप मात्र लगाइएको हो ?
यी प्रश्नको जवाफ गृह मन्त्रालय, अध्यागमन विभाग र युनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधाबिस्थित नेपाली दूतावासको तथ्याङ्कले दिन्छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार, पछिल्लो तीन वर्ष साढे सात महिनामा आठ लाख एक हजार ६६६ जना नेपाली भिजिट भिसामा विदेश गएका छन् ।
२०७८ असोज २४ गतेदेखि २०८२ जेठ ८ गतेसम्मको अवधिमा उक्त संख्यामा नेपाली भिजिट भिसामा विदेश गएका हुन् ।
सो समयमा बालकृष्ण खाण १७ महिना १४ दिन गृहमन्त्री हुँदा दुई लाख ४३ हजार ७५४ जना, रवि लामिछाने पाँच महिना ११ दिन गृहमन्त्री हुँदा (दुई पटक) एक लाख १६ हजार २१० जना, नारायणकाजी श्रेष्ठ ११ महिना पाँच दिन गृहमन्त्री हुँदा दुई लाख १२ हजार ७७७ जना, पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयको समेत जिम्मेवारी तीन दिन सम्हाल्दा दुई हजार ५६० जना र रमेश लेखक २०८१ असार ३१ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न सुरु गरेयताको १० महिना १६ दिनमा २ लाख ३८ हजार १८२ जना नेपाली भिजिट भिसामा विदेश गएको देखिन्छ ।
अध्यागमन विभागबाट बाह्रखरीलाई प्राप्त विवरण अनुसार, सन् २०२४ मा विभिन्न उद्देश्यले १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका थिए । यीमध्ये भिजिट भिसामा सन् २०२४ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म विश्वका डेढ सयभन्दा बढी देशमा जाने नेपालीको संख्या दुई लाख ७४ हजार ४२८ थियो ।
यूएईस्थित नेपाली दूतावासले बाह्रखरीलाई उपलब्ध गरेको तथ्याङ्क केही फरक छ । दूतावासका अनुसार, सन् २०२४ मा भिजिट भिसामा चार लाख ३७ हजार नेपाली यूएई पुगेका थिए । यो तथ्याङ्क यूएई सरकारले नेपाली दूतावासलाई दिएको हो ।
अध्यागमन विभागको तथ्याङ्कअनुसार, सन् २०२४ मा ९९ हजार ८८६ जना नेपाली मात्र भिजिट भिसामा यूएई गएको देखिन्छ । उक्त वर्ष भिजिट भिसामा सबैभन्दा बढी नेपाली यूएई गएका थिए । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जति संख्यामा नेपाली भिजिट भिसामा विश्वका डेढ सयभन्दा बढी देशका लागि उडेका छन् त्योभन्दा १.५९ गुणाभन्दा बढी नेपाली यूएई पुगेको देखिन्छ ।
नेपालको अध्यागमन विभागको तथ्याङ्कले जति संख्यामा नेपाली भिजिट भिसामा यूएई गएको देखाएको छ त्यसको ४.३७ गुणाभन्दा बढी नेपाली भिजिट भिसामा यूएई पुगेको यूएईको सरकारी तथ्याङ्कले देखाउँछ ।
सन् २०२४ मा यूएईका लागि नेपालबाट भिजिट भिसामा उड्ने नेपालीको संख्याभन्दा त्यही भिसामा यूएई पुग्ने नेपालीको संख्या तीन लाख ३७ हजार ११४ ले बढी देखिन्छ ।
अध्यागमन विभागका अनुसार, भिजिट भिसामा सन् २०२४ मा ९९ हजार ८८६ जना यूएई, ६४ हजार ६७८ जना भारत, ३२ हजार ५६४ जना थाइल्याण्ड, १२ हजार ३५५ जना चीन, नौ हजार ६३६ जना अष्ट्रेलिया, पाँच हजार ४२४ जना मलेसिया, पाँच हजार ३२५ जना सिंगापुर, पाँच हजार २७० जना ओमान, पाँच हजार २४४ जना अमेरिका, चार हजार ८६१ जना जापान, दुई हजार ५७९ जना बेलायत, एक हजार ५९१ जना कतार र एक हजार ४५३ जना साउदी अरेबिया गएका थिए । बाँकी २३ हजार ५६२ जना नेपाली भिजिट भिसामा अन्य देश गएका थिए ।
के यस्तो सन् २०२४ मात्र भएको हो ? अघिल्ला वर्षहरूको तथ्याङ्कले के भन्छ ? अध्ययागमन विभागको तथ्याङ्क अनुसार, सन् २०२३ मा दुई लाख चार हजार ५१८ जना नेपाली भिजिट भिसामा विदेश गएका थिए ।
सन् २०२३ को तुलनामा २०२४ मा ६९ हजार ९१० जना बढी नेपाली भिजिट भिसामा काठमाडौंबाट विदेश गएको देखिन्छ । सन् २०२३ को तुलनामा २०२४ मा काठमाडौंबाट भिजिट भिसामा यूएई जाने नेपालीको संख्या झन्डै दुईगुणाले वृद्धि भएको छ ।
सन् २०२३ मा ५५ हजार ६१८ जना नेपाली भिजिट भिसामा यूएई गएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा ४४ हजार २६८ जना बढी नेपाली भिजिट भिसामा यूएई गएको विभागको तथ्याङ्कले देखाउँछ ।
सन् २०२३ मा पनि काठमाडौंबाट भिजिट भिसामा युएई उड्ने र भिजिट भिसामा यूएई पुग्ने नेपालीको संख्यामा ठूलो अन्तर थियो । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुई लाख चार हजार ५१८ जना विभिन्न देश गएका थिए । यीमध्ये ५५ हजार ६१८ जना यूएई जान भनी उडेका थिए ।
यूएई सरकारले अबुधाबीस्थित नेपाली दूतावासलाई दिएको जानकारी अनुसार सन् २०२३ मा एक लाख ७५ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका थिए । सन् २०२३ मा नेपालबाट यूएई जान भनी भिजिट भिसामा उडेकाभन्दा यूएईमा भिजिट भीसामा पुग्ने नेपालीको संख्या एक लाख १९ हजार ३८२ ले बढी थियो ।
अध्यागमन विभागका अनुसार, सन् २०२२ मा भिजिट भिसामा विभिन्न देश जाने नेपालीको संख्या एक लाख ७७ हजार ३१० थियो । तर उक्त वर्ष भिजिट भिसामा दुई लाख ५५ हजार नेपाली यूएई पुगेका थिए । उक्त वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा जति नेपाली विदेश गएका थिए त्यो संख्याभन्दा बढी भिजिट भिसामा यूएई पुग्नेको थियो ।
मानव तस्करहरूले केही नेपालीलाई विभिन्न प्रलोभन देखाई भिजिट भिसामा यूएई पुर्याउने गरेका छन् । कसैलाई अमेरिका पुर्याउने र कसैलाई युरोपका विभिन्न देश, पछिल्लो समय रुसी सेनामा भर्ती गराउने प्रलोभन देखाई नेपालीलाई भिजिट भिसामा यूएई पुर्याउने गरेको पाइन्छ ।
पछिल्लो समय मानव तस्करले भिजिट भिसामा नेपालीलाई थाइल्यान्ड, म्यानमार, लाओस, कम्बोडिया लगेर अवैध धन्दामा लगाउने गरेको समेत पाइएको छ । खाडी राष्ट्रहरूमा घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन सरकारले रोक लगाएको छ ।
तर मानव तस्करहरूले ठूलो संख्यामा नेपाली महिलालाई भिजिट भिसामा खाडी राष्ट्र पुर्याइ घरेलु कामदार बनाउने गरेका छन् ।