
काठमाडौं । पछिल्लो समय ठूला लगानीमा तारे होटल खोल्ने क्रम बढेको छ ।
उत्पादनमूलक क्षेत्रमा केन्द्रीत रहेका केही ठूला व्यवसायिक घरनाहरु अहिले होटलमा लगानी बढाइरहेका छन् । जलविद्युत, व्यापार, बैंकिङ, रियलस्टेट, बिमा र टेक्सटाइल बिजनेस गर्दै आएको व्यवसायिक घरना गोल्यान ग्रुप होटलमा आक्रामक रुपमा लगानी बढाउँदै गएको छ ।
ग्रुपले चार अर्ब रुपैयाँ लगानीमा लुम्बिनीमा दोस्रो पाँचतारे होटल वेद सञ्चालनमा ल्याउने भएको छ । ग्रुपले राजधानीको सोल्टीमोडमा पाँचतारे सिटी होटल लिमिटेड सञ्चालनमा ल्याइसकेको छ । कोरोनाकाल सन् २०२१ नोभेम्बरदेखि राजधानीमा पहिलो पाँचतारे स्तरको ह्यात प्यालेस होटल सञ्चालन गरेको थियो । सिटी होटलमा एक सय ५३ कोठा छन् ।
सिटी होटलले साधारण सेयर (आइपीओ) पनि निष्कासन गरिसकेको छ । सिटी होटल अहिले ह्यात सेन्ट्रिक ब्रान्डमा चलेको छ । दोस्रो होटल परियोजना होटल लुम्बिनीको मायादेवी गाँउपालिका वडा नम्बर चारमा बन्ने भएको छ ।
लुम्बिनीमा होटल पूर्वाधार बनाउने तयारी भएको गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले बताए । उनले होटलका लागि आवश्यक जग्गा खरिद गरिसकेको जानकारी दिए । होटलमा ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी (इक्विटीबाट जुटाउने गरि लगानी संरचना तयार पारिएको छ ।
होटलमा २ अर्ब ८० करोड रुपैयाँ बैंकको ऋण र बाँकी १ अर्ब २० करोड ६० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) हुने वेदले जनाएको छ । प्रस्तावित होटल सन् २०२८ को जनवरीदेखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी भएको वेद हस्पिटालिटीले जनाएको छ ।
होटलका लागि आवश्यक जग्गा खरिद सकिएको छ । सिभिल, आर्किटेक्चर र ल्यान्ड स्कोपिङका लागि परामर्शदाता नियुक्त भइसकेको वेद हस्पिटालिटीले जनाएको छ । होटलको वातावरणीय प्रभाव मूल्याँकन (इआइ) तयार पारी वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ । मन्त्रालयले होटलले तयार पारेको ईआईएमा राय मागेको छ ।
मन्त्रालयले होटलको ईआईएको क्षेत्र निर्धारण र कार्यसूची गत मंसिर १० गते स्वीकृत भएको जनाएको छ । होटलले तयार पारेको ईआईएअनुसार बन्ने पूर्वाधारहरुमा एउटा वेलकम ब्लक, क्यासिनो ब्लक एक, चारवटा होटल ब्लक र बाँकी पाँचवटा भिल्ला ब्लक गरी कूल ११ भवन बन्ने भएको छ ।
होटलमा १७७ वटा कोठा बन्नेछ । विभिन्न स्तरका पाहुन कोठाहरुसहित बैंक्वेट हल, कन्फरेन्स हल, मिटिङ हल, ज्याकुजी, स्पा, स्टिम साउना, मसाज, फिट्नेस सेन्टर र स्विमिङपूललगायत अन्य पाँचतारे स्तरका अत्याधुनिक पूर्वाधाहरु बन्ने वेद हस्पिटालिटीले एआइएमा उल्लेख गरेको मन्त्रालयले जनाएको छ । होटल साढे १० विगाह क्षेत्रफलमा बन्ने भएको छ ।
होटलले चर्चिने जग्गाको क्षेत्रफल ६९ हजार ४८५ वर्गमिटर, होटलका भवनहरुको तल्लाको कूल क्षेत्रफल ५६ हजार २०५ वर्गमिटर हुने इआइएमा उल्लेख छ । हरियाली क्षेत्र ४५ प्रतिशत हुने, खुला क्षेत्र ३३.७५, ग्राउन्ड कभरेज कूल जग्गाको २१.२५ प्रतिशत रहने भएको छ ।
होटल ५० वटा मोटरसाइकल र २२० वटा चारपांग्रे सवारीसाधन पाकिङ गर्न मिल्ने पूर्वाधार बन्ने भएको छ । होटलको व्यवस्थापन ह्यात इन्टरनेसनले साउथ वेस्ट एसिया लिमिटेड (एचएमए) ले हेर्ने सम्झौता भएको छ ।
वेद हस्पिटालिटी र ह्यातबीच होटल व्यवस्थापनको सम्झौता भएको छ । वेद होटल ह्यात रिजेन्सी ब्रान्डमा सञ्चालन हुने भएको छ ।
होटल भैरहवा विमानस्थलबाट ८ किलोमिटर दुरीमा छ । होटल भारतको उत्तर प्रदेशको नौतुनवा रेल्वे स्टेशनबाट ३८ किलोमिटर दुरीमा रहेको छ । भारतीय सीमाना नजिकको गन्तव्य भएकाले होटल नेपालका लागि कपर्रेट बैठक र विवाह गन्तव्यहरूको लागि पनि आकर्षक विकल्प बन्ने अनुमान गरिएको छ ।
वेद हस्पिटालिटीको स्थापना सन् २०२२ मा भएको हो ।
नेपाल–भारत सीमा क्षेत्र भएकाले भैैरहवा क्यासिनोको लागि अधिक रुचाइएको स्थान हो भने विवाह गन्तव्य (वेडिङ डेस्टिनेसन) होटलको रूपमा प्रवद्र्धन गर्ने योजना वेद हस्पिटालिटीको छ । सोल्टिमोडमा रहेको ह्यात सेन्ट्रिक ५ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको थियो । १४ तलाको होटलमा १ सय ५३ कोठा छन् ।