site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लोडसेडिङ हुन नदिन १०० मेगावाटको ‘ब्याट्री ब्याकअप’ राख्ने योजनामा प्राधिकरण
फाइल तस्बिर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादन बढदै गए पनि प्रसारणलाइन विस्तार नहुँदा बिजुली आपूर्ति प्रभावित भएको बताए । प्रसारण र वितरणलाइन द्रुत गतिमा बनाउनुको विकल्प नभएको उनको भनाइ छ ।

“प्राधिकरण जसरी पनि स्रोत जुटाएर प्रसारणलाइन विस्तारको कामलाई अघि बढाउँछ,” उनले भने, “हामीले त्यसो गर्न नसक्ने हो भने ससाना घटनामा पनि विद्युत् आपूर्ति प्रभावित (ट्रिपिङ) भइरहने हुन्छ,” शनिबार काठमाडौंमा पत्रकारसँगको कुराकानीमा उनले भने ।

Argakhachi Cement Island Ad

उनले वितरणलाइनमा त्यति अवरोध नभए पनि प्रसारणलाइनमा अवरोध रहेको बताए । ती समस्या समाधान गरी अघि बढ्ने उनले बताए । “कुन–कुन नीतिले कहाँ–कहाँ अप्ठेरो पारेको रहेछ भनेर म नियुक्त भएपछि अध्ययन गरेँ । ऐनले अप्ठेरो पारेको त्यति देखिएन,” उनले भने, “भूउपयोग नीति र नियमावलीमा भएको व्यवस्थाअनुसार केही नीतिगत निर्णय मन्त्रिपरिषद्‌बाट भैदिए धेरै गाँठो फुक्ने थियो । हामीले त्यसै अनुसार काम अघि बढाउने तयारी गरेका छौँ ।”

उपत्यकाको ट्रिपिङ समस्या समाधान गर्न ऊर्जा भण्डारणको तयारी
शाक्यले अहिले काठमाडौं उपत्यकामा बढी ट्रिपिङको समस्या आएको बताए । यसको समाधानका लागि भक्तपुर अथवा मातातीर्थतिर १०० मेगावाटको ऊर्जा भण्डारका लागि ब्याट्री राख्ने योजना बनाएको बताए ।

“त्योसँगै आवश्यक ठाउँहरूमा ट्रान्सफर्मर थप्ने भन्ने पनि तयारी छ,” उनले भने, “केही समयअघि स्युचाटारमा भएको घटनाले ट्रान्सफर्मरको क्षमता बढाउने होइन कि अर्को ट्रान्सफर्मर, फिडर थप्ने गरी अघि बढ्नुपर्छ भन्ने देखाएको छ । हामीले त्यसका लागि पनि पहिचान गर्दै आएका छौँ । त्यसले हाम्रो प्रणालीको प्रभावलाई बढाउँछ ।”

उनले विस्तारै ‘ओभरहेड फिडर’सँगै भूमिगत केबुलको फिडरले पनि प्रणालीको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा लिएको बताए  । त्योसँगै सबस्टेसनमा हाईभोल्टेजका ट्रान्फरर्मर र त्योसँगै फिडरबाट पोलपोलमा भएको ट्रान्फर्मरको पनि क्षमता वृद्धि गर्ने रणनीति लिएको जानकारी दिए ।

उनले लामो फिडरमा एक ठाउँमा विद्युत् आपूर्तिमा समस्या हुँदा त्यहाँको सबै ठाउँमा बत्ती जाने अवस्था हुने बताए । त्यसको समाधानका लागि रणनीति बनाएको उनले जानकारी दिए ।

“ससाना प्राविधिक समस्याको समेत पहिचान गरेर समस्या समाधानको उपाय खोज्छौँ र आगामी वर्षसम्म केही नयाँ भयो भन्ने अनुभूति उपभोक्तालाई हुने गरी काम गर्छौं,” उनले भने । 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्