site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्राधिकरणका अध्यक्ष ओझाले गरे पूर्वअध्यक्षहरूसँग छलफल

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बिमा क्षेत्रलाई सुव्यवस्थितरूपले अगाडि बढाउने सन्दर्भमा विगतका अनुभव, चुनौतीहरूको सामना गर्न विगतमा चालिएका कदम, समस्याहरूको समाधानका लागि गरिएका काम र बिमा क्षेत्रको अपेक्षा लगायतका विषयमा प्राधिकरणका पूर्वअध्यक्षहरूसँग छलफल गरेका छन् ।

नेपाल बिमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा सोमबार आयोजित भेटघाट एवम् छलफल कार्यक्रममा प्राधिकरणका पूर्वअध्यक्षहरू माधवप्रसाद उपाध्याय, देवेन्द्रप्रताप शाह र प्रा.डा. फत्तबहादुर के.सी. थिए ।

कार्यक्रममा पूर्वअध्यक्षहरूले बिमा ऐन र नियमले प्राधिकरणको नेतृत्वलाई बलियो बनाएको उल्लेख गर्दै प्राधिकरणको प्रतिष्ठालाई उच्च बनाउने आफ्नो मूल दायित्व ठानेर निडर भइ इमान्दारिताका साथ अगाडि बढ्न सुझाव दिए । प्राधिकरणको नियामकीय भूमिकालाई राम्रोसँग बुझेर अगाडि बढ्न, नचाहिने कुरामा नझुक्न, राजनीतिक हस्तक्षेप हुन नदिन, बिमा कम्पनीहरूलाई नचाहिने काम गर्न नदिन, नहुने कामलाई सिधैँ ‘हुन्न’ भन्न र आफ्नो विवेकलाई ध्यानमा राखेर काम गर्न उनीहरूले सुझाव दिए ।

यसैगरी, तत्काललाई केही नोक्सान भए पनि राम्रो काम गर्न नछाड्न, संस्थाको हितमा निर्धक्कसँग काम गर्न, प्राप्त सूचनाहरूको पुष्टि गरेर मात्र अघि बढ्न, बिमा क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरूलाई नियन्त्रण गर्न, बिमा व्यवसायका लागि उपयुक्त वातावरण बनाउन, प्राधिकरणको नियामकीय भूमिकालाई सशक्त बनाउन र कसैको भनाइमा नभएर ऐन तथा नियमअनुसार काम गर्न प्राधिकरणका पूर्वअध्यक्षहरूले सुझाव दिए ।

त्यस अवसरमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष ओझाले विगतका राम्रा अभ्यासलाई निरन्तरता दिँदै थप असल अभ्यासका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष ओझाले बिमा क्षेत्रलाई सुव्यवस्थित बनाउने सन्दर्भमा विगतका सुझबुझपूर्ण अनुभव, चुनौतीहरूको सामना गर्न तथा समस्याहरू समाधान गर्न चालिएका कदम, प्राधिकरणको नियामकीय भूमिका र बिमा बजारमा आवश्यक हस्तक्षेप लगायतका विषयमा विगतका अनुभवहरूका बारेमा जानकारी प्राप्त गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

विगतका सुझबुझपूर्ण अनुभवहरूलाई मार्गदर्शकका रूपमा लिएर अगाडि बढ्ने उल्लेख गर्दै अध्यक्ष ओझाले सरकार र बिमा क्षेत्रको अपेक्षा अनुरूप समग्र बिमा क्षेत्रलाई सुव्यवस्थित, नियमित र स्वच्छ प्रतिस्पर्धी बनाउनका लागि आवश्यक निर्णय लिन पूर्वअध्यक्षहरूबाट प्राप्त अनुभवबाट सहज हुने विश्वास व्यक्त गरे । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro