site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सोमबारको सेयर बजारले के संकेत गर्छ ?

काठमाडौं । लगातार नौ कारोबार दिन बढेर धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक दशौँ कारोबार दिन (सोमबार) घट्यो । यस दिन बजार समग्रमा १३.६२ अंकले घटेर २८७६.६६ विन्दुमा बन्द भयो । सोमबारको कारोबार अवधिमा बजार २९ सय विन्दु पार गरेर पुनः २९ सय विन्दुभन्दा तल झरेको हो ।

हुन त यसअघि बनाएको तीन हजारको उच्च विन्दु पार गर्न पनि बजारमा करेक्सन आवश्यक हुन्छ । सोही अनुरूप सोमबारको बजारलाई करेक्सनको रूपमा हेरिएको छ । पछिल्ला नौ कारोबार दिनमा बजार २११.७८ अंकले बढेर २६७८ को विन्दुबाट २८९० विन्दुमा पुग्यो ।

तर, लगातारको बढाइपछि बजारमा दशौँ दिनमा करेक्सन देखियो । यसलाई लगानीकर्ता र बजारका जानकारहरू स्वभाविक रूपमा लिन्छ । लगातार बढ्दै जाँदा त्यहाँ नयाँ लगानीकर्ता फस्ने सम्भावना बढी हुने भएकाले सन्तुलित रूपमा बजार घटबढ हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।

अहिलेको कारोबार रकमले बजारले लय समातेको संकेत गरेको उनको भनाइ छ । “हिजो परिसूचक बढ्दा १४ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । आज परिसूचक घट्दा पनि कारोबार रकम बढ्दै गएको छ,” उनले बाह्रखरीसित भने, “यसले बजार बुलिस ट्रेन्डमा भएको देखाउँछ । बजारमा सामान्य करेक्सन आउँदा बेच्नेलाई किन्ने पुनः मौका दिएको हो । बजार बढ्दै घट्दै अगाडि बढे दिगो हुन्छ ।”

ब्याजदर सस्तिएको र बैंकहरूमा तरलता पर्याप्त हुँदै गएको छ । सस्तोमा ऋण पाएपछि त्यो पैसा बजारमा आउने रौनियारको भनाइ छ । मौद्रिक नीतिको समीक्षाले पनि सेयर बजारलाई सपोर्ट गरेको रौनियार बताउँछन् । “अहिले ब्याजदरले सेयर बजारलाई सपोर्ट गरेको छ,” उनले भने, “मौद्रिक नीतिको समीक्षाबाट पनि सेयर बजारलाई डाइरेक्टली र इनडाइरेक्ट रूपमा नै सहयोग गरेको छ । ईभी गाडीमा जाने लोन घटेपछि त्यो पैसा सेयर बजारमा नै आउँछ ।”

अहिले लगानीर्ताको मनोबल सकारात्मक भएकाले दैनिक कारोबार रकम बढ्दै गएको सेयर लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुल्लेल बताउँछन् । आज परिसूचकमा करेक्सन आएको भए पनि कारोबार रकमले सकारात्मक संकेत देखाएको उनी बताउँछन् । “हिजो र आजको कारोबार रकम हेर्दा सकारात्मक संकेत देखिएको छ । परिसूचक घटे पनि आज कारोबार रकम बढेको छ । यसले अबका दिनमा नेप्से इन्डेक्स बढाउँछ भन्ने देखाउँछ,” फुल्लेलले भने, “तर, सबै कम्पनीको सेयर मूल्य बढ्दैन । लगानी गर्दा कम्पनीको वित्तीय अवस्था हेरेर गर्नुपर्छ । अब बजार बुलिस ट्रेन्डमा गएको लगानीकर्तालाई लागेको छ ।”

बजारको आकार विस्तारै बढ्दै गएको उनी बताउँछन् । पछिल्लो दुई कारोबार दिनमा बजार १२४ अंकले बढ्नुलाई पनि स्वभाविक मान्नुपर्ने उनी बताउँछन् । “नेप्से परिसूचक घट्ने र बढ्ने हुनु नै बजारको गहना हो,” फुल्लेलले भने ।

गत बिहीबार र आइतबार बजार लगातार उच्च अंकले बढेको थियो । बिहीबार बजार ४९ अंकले बढेको थियो भने आइतबार ७५ अंकले बढेको थियो । त्यस्तै, बिहीबार ११ अर्ब ३९ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आइतबार नेप्से परिसूचक उच्च अंकले बढ्दै १४ अर्ब २५ करोडको कारोबार भएको थियो । 

सोमबार परिसूचक १३ अंकले घट्दा पनि १४ अर्ब २८ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । इन्डेक्समा घटबढ आए पनि कारोबार रकम भने १४ अर्बकै हाराहारीमा बसेमा बजारको उकालो गति नरोकिने एक लगानीकर्ताले बताए । तर, उकालो गतिलाई निरन्तरता दिन नेप्से परिसूचक पनि २८ सय विन्दुभन्दा तल झर्न नहुने उनको भनाइ छ ।  

 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro