काठमाडौं । तेस्रो संस्करणको केपी ओली कप फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध २–० को जित निकाल्दै मछिन्द्र फुटबल क्लबले लगातार तेस्रोपटक उपाधि जितेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र स्टेफन जमाह जलीले गोल गरे । मछिन्द्रले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो ।
खेलको २९औँ मिनेटमा पेनाल्टी क्षेत्रबाहिर राइट साइडबाट सनिसले गरेको प्रहार आर्मीका रक्षक विमल पाण्डेबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो ।
७३औँ मिनेटमा स्टेफन जमाह जलीले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । जलीले मलिक युसुफको क्रसमा ड्याप इन गोल गरे । यसपछि थप गोल नहुँदा मछिन्द्र लगातार तेस्रोपटक च्याम्पियन बनेको हो । मछिन्द्रले यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो ।
प्रतियोगिताको सेमिफाइनलमा आर्मीले संकटा क्लबलाई २–१ ले हराउँददै फाइनल प्रवेश गरेको हो ।
यस्तै, मछिन्द्र फुटबल क्लबले आयोजक केपी एफसीलाई ४–० ले पराजित गरेको थियोे ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेता बनेसँगै मछिन्द्रले १५ लाख ११ हजार १११ र उपविजेतामा चित्त बुझाएको आर्मीले पाँच लाखसहित प्रमाणपत्र र मेडल पाएका छन् ।
प्रतियोगिताको तेस्रो संस्करणमा दुई विदेशीसहित नौ टोलीले सहभागिता जनाएका थिए ।