
काठमाडौं । नियमित कप्तान लियोनल मेसी अनुपस्थित रहे पनि मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले होस्टन डाइनामोविरुद्ध ४–१ को सहज जित निकालेको छ ।
सोमबार बिहान डाइनामोको मैदानमा भएको खेलमा मियामीलाई जित दिलाउन टेलास्को सेगोभियाले दुई गोल गरे । टाडेओ एलेन्डे र लुईस स्वारेजले समान एक गोल गरे । घरेलु टिमका निकोलस लोडेइरोले एक गोल फर्काए ।
खेलको छैटौँ मिनेटमा सेगोभियाले गोल गर्दै मियामीलाई अग्रतामा राखेका थिए । खेलको ३७औँ मिनेटमा एलेन्डेले पाहुना टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा सेगोभियाले गोल गरेपछि मियामीले ३–० को अग्रता बनाएको थियो ।
खेलको ७९औँ मिनेटमा स्वारेजले गोल गर्दै मियामीको अग्रतालाई ४–० को अग्रतामा राखेका थिए । घरेलु टिमका लोडेइरोले ८५औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
लिगमा जारी सिजन दोस्रो खेल खेलिरहेको मियामीको यो पहिलो जित हो । जितसँगै दुई खेलबाट चार अंक जोडेको मियामी तालिकाको तेस्रो स्थानमा छ ।