
काठमाडौं । मंसिरयता काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषण उच्च छ । वातावरण विभागको तथ्यांक हेर्ने हो भने काठमाडौं उपत्यका मात्रै नभई पोखरा, भरतपुर, धनगढीलगायत सहर पनि अस्वस्थकर बनेका छन् ।
पछिल्लो साता पोखराको वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) स्वास्थ्यका दृष्टिकोणले खतराको तहमा छ । काठमाडौं उपत्यका, धनगढी, भरतपुर सहरको वायु अस्वस्थकर तहमा छ ।
भारतमा ५४ दिनसम्म लागेको महाकुम्भ मेला र त्यसलगत्तै नेपालमा महाशिवरात्रिका लागि मानिसको चहलपहल निकै बढेको छ । यसले श्वासप्रश्वाससम्बन्धी विभिन्न रोगहरूको जोखिम पनि बढाएको छ । वायु प्रदूषण र ठूलो संख्यामा मानिसको चहलपहल हुँदा श्वासप्रश्वासजन्य रोगहरू कसरी बढेका छन् त ? नर्भिक इन्टरनेसनल हस्पिटलका छातीरोग विशेषज्ञ डा.अच्युतभक्त आचार्य भन्छन् :
काठमाडौंमा पछिल्ला वर्षहरूमा श्वासप्रश्वाससम्बन्धी नयाँ बिरामी धेरै थपिएका छन् । निरोगी व्यक्तिलाई नयाँ रोग लाग्ने र पहिले नै दीर्घरोग भएकाहरूलाई त्यही समस्याले बढी च्यापेर अस्पताल आइपुगेको पाइन्छ । विशेषगरी आस्थमा, सीओपीडी, आइएलडी, क्षयरोग तथा फोक्सोसम्बन्धी विभिन्न समस्या भएका बिरामीलाई यसले थप असर पुर्याइरहेको छ ।
स्वस्थ व्यक्तिमा पनि वायु प्रदूषणले फोक्सोका विभिन्न समस्या निम्त्याइरहेको छ । अस्पताल आउने बिरामीमध्ये अधिकांश पुरानै रोग बल्झिएर आइपुग्ने गरेका छन् । मौसम परिवर्तन र वायु प्रदूषण बढेको मौसममा यस्ता बिरामीको संख्या बढ्ने गरेको छ ।
अहिलेको सिजनमा आस्थमा, सीओपीडी र जति पनि फोक्सोको समस्या भएका बिरामीको चाप नै छ । पछिल्लो समय भारतमा भएको कुम्भ मेलाको चहलपहलले भाइरल एक्टिभिटिज बढाएको छ । दीर्घरोगी त भए नै, स्वस्थ फोक्सोमा पनि यसको असर घातक देखिएको छ ।
सामान्य भाइरलको असर पनि कडा किसिमको देखिएको छ । घरेलु औषधिले काम नगरेको र अस्पताल नै आइपुग्ने बिरामी बढेका छन् । मेलाहरूमा हुने चहलपहलले एक त आपसमा रोग सारिरहेको छ भने भाइरसले आफ्ने रूप परिवर्तन गरिरहेका छन् ।
जसको असर यसअघि देखिइरहेका भाइरसहरूको परिवर्तित रूप (नयाँ भेरियन्ट)ले आक्रमण गरेको पाइन्छ । पछिल्लाे डेढ महिनायता एकै समयमा एकै परिवारका धेरैजना सदस्यमा श्वासप्रश्वासम्बन्धी संक्रमण पनि देखिएको छ ।
स्वस्थ व्यक्ति पनि वायु प्रदूषण उच्च भएका स्वदेशी तथा विदेशी सहरको यात्रापछि बिरामी परेर फर्किएको पाइएको छ । पीएम २.५ को मात्रा बढी भएको वायुले फोक्सो र अन्य अंगलाई बढी असर पुर्याउँछ । किनकि हाम्रो श्वासनलीको संरचना जति भित्र गयो त्यति सानो हुँदै गएको हुन्छ । पीएम २.५ को मात्रा बढी भएको वायु श्वासप्रश्वास हुँदै भित्री अंगहरूमा पुग्ने जोखिम बढी हुन्छ र बढी घातक पनि हुन्छ ।
पीएम २.५ सहितको वायुले पछिल्लो समय मुटुरोगीको संख्या पनि बढाएको छ । आगोको धुवाँ, धूमपान, कार्पेटमा जम्ने धुलोलगायत घरभित्रकै प्रदूषणले पनि फोक्सोमा विभिन्न समस्या निम्त्याइरहेको छ ।
काठमाडौं उपत्यका अधिकांश महिनामा प्रदूषित सहरको शीर्ष १० भित्र परिरहेको विभिन्न सूचकहरूले देखाउने गरेका छन् । यसका कारण पछिल्ला वर्षहरूमा कडाखाले भाइरल, साधारण औषधिले निको नहुने संक्रमणहरू बढाएको छ ।
नेपालमा बर्सेनि एकलाख २० हजार मानिसमा क्षयरोग (टीबी) देखिइरहेको छ भने पाँचदेखि सात हजारजनाको यसकै कारण मृत्यु हुन्छ । हामीकहाँ आइपुग्ने ५० प्रतिशत बिरामीमा पनि टीबी नै भएको पाइन्छ । पछिल्लो समय कडा क्षयरोगका बिरामी पनि देखिएका छन् ।
लक्षणविनाको टीबी धेरैमा देखिएको छ, विभिन्न समस्या लिएर अस्पताल आइपुगेपछि मात्रै यो रोग पहिचान भइरहेको छ । हट्टाकट्टा र स्वस्थ देखिने व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सो कमजोर भई टीबी देखिइरहेको पाइएको छ ।