
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (भोलि) शिवरात्रिका अवसरमा दिउँसो साढे ४ बजे पशुपतिनाथको दर्शन गर्ने भएका छन् । बिहानको समयमा दर्शनार्थीहरूको भिड धेरै हुने भएकाले राष्ट्रपतिको सवारी ४ बजेपछि हुने भएको हो ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार साढे ४ बजे राष्ट्रपतिले पशुपतिनाथको दर्शन गर्नेछन् । “राष्ट्रपतिले साढे ४ बजे पशुपति दर्शन गर्नुहुन्छ,” उनले भनिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पशुपति दर्शन अनिश्चित रहेको कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमणका अनुसार कोषले भोलि बिहान २ बजेदेखि नै दर्शनार्थीहरूलाई पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाएको छ ।
करिब १० लाख भक्तजनहरूले दर्शन गर्ने अनुमान कोषको छ । बेलुका ६ बजेसम्म दर्शन गर्न सकिने व्यवस्था कोषले गरेको छ ।
पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङ, चरेस आदिको भण्डारण बिक्रीवितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । त्यस्तै, प्लास्टक पनि निषेध गरिएको छ ।